२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’

मंगलवार , कार्तिक १०, २०८३

  • 43
    Shares
  • 43
    Shares
  • काठमाडौँ, १० कार्तिक । काठमाडौंको हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’का रूपमा परिचित चोक्टे नारायणको जात्रा मनाइएको छ । 

    उल्टो खटमा देवता राखेर नगर परिक्रमा गराइने यस जात्राले हाँडीगाउँको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्छ । जात्राको प्रमुख विशेषता अन्य जात्राभन्दा फरक शैलीमा खट यात्रा गराउनु हो । सामान्यतया खटको गजुर माथि र देवताको मूर्ति तल राख्ने गरिए पनि यस जात्रामा गजुर तल र देवताको मूर्ति माथि राखिन्छ । तीनवटा खटमा देवता राखेर हाँडीगाउँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । स्थानीय परम्पराअनुसार जात्रामा व्रह्मा, विष्णु र महेश्वरसँग सम्बन्धित तीनवटा खट निकालिन्छन् ।

    भक्तजनले खट बोकेर नगर परिक्रमा गराउँछन् । खटलाई घुमाउने अनौठो शैली र धार्मिक विधिका कारण यो जात्रा अन्य जात्राभन्दा विशिष्ट मानिन्छ । यस जात्राको शुरुवातबारे विभिन्न जनश्रुति प्रचलित छन् । तीमध्ये नारायण भगवान्लाई प्रसन्न पार्न संसारमै नभएको शैलीमा जात्रा गर्ने भाकल गरिएको र त्यसपछि यो परम्परा सुरु भएको किंवदन्ती चर्चित छ ।

    सोही परम्पराका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान प्रचलनमा आएको विश्वास गरिन्छ काठमाडौं उपत्यकाको प्राचीन बस्तीमध्ये एक मानिने हाँडीगाउँ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका लागि परिचित छ । यहाँ मनाइने जात्राले स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जीवन्त राख्न योगदान पु¥याउँदै आएको छ ।