२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन : वरिष्ठ मौसमविद् विभूति पोखरेल

मंगलवार , कार्तिक १०, २०८३

  • 148
    Shares
  • 148
    Shares
  • काठमाडौँ, १० कार्तिक । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । 

    नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ । पोखरेलकाअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उहाँले बताउनु भयो । वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

    हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उहाँले बताउनु भयो । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै, पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई पनि शतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । यस्तै धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने उहाँको भनाई छ । विभागले जारी गर्ने मौसमसम्बन्धी सुचना हेरेर मात्रै धान काट्न पनि उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले बिहीवारदेखि शनिवारसम्म वर्षा गराउने सम्भावना देखिएको प्रणाली बङ्गालको खाडी र अरब सागरमा विकसित चक्रवातको अवशेष हो । यो प्रणाली नेपाल नजिक आइपुग्दासम्म न्यून चापीय क्षेत्रका रूपमा रहन सक्छ, तर त्यतिबेलासम्म अझ कमजोर भइसकेको हुन सक्छ । यद्यपि, यस प्रणालीले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा बोकेर ल्याउने सम्भावना छ । त्यससँगै माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग यसको अन्तरक्रिया हुँदा वर्षा गराउने अवस्था सिर्जना हुन्छ । यसरी प्रणालीले ल्याउने जलवाष्प र माथिल्लो वायुमण्डलको अवस्थाको संयुक्त प्रभावले नेपालमा वर्षा हुन सक्छ । पछिल्लो पूर्वानुमानअनुसार वर्षाको तीव्रता केही कम हुने देखिएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने थोरै स्थानमा भारी वर्षा हुनसक्छ । उच्च हिमाली क्षेत्रमा भने अझै शतर्कता अपनाउन आवश्यक छ ।

    त्यहाँ रहेका पर्यटकले सुरक्षित स्थानमा बस्नुपर्छ र माथिल्लो क्षेत्रबाट सुरक्षित स्थानतर्फ झर्नु उचित हुन्छ । हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्नु नै राम्रो हुन्छ । नेपाल नजिक आइपुग्दासम्म न्यून चापीय क्षेत्र अझ कमजोर भयो भने वर्षाको प्रभाव कम हुन सक्छ । तर प्रणाली अपेक्षाकृत शक्तिशाली रह्यो भने प्रभाव बढी हुन सक्छ । त्यसैले यसको गति, दिशासहित प्रणालीको अवस्थालाई निरन्तर अनुगमन गर्न आवश्यक छ । प्रणाली कति छिटो अघि बढ्छ भन्ने कुराले पनि वर्षाको समय र प्रभावमा फरक पार्न सक्छ ।

    धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । त्यसैले अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क भने रहनुपर्छ । विशेषगरी पर्यटन र कृषि क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ । कृषि क्षेत्रमा पनि धान काट्ने समय भएकाले किसानले वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्छ । जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूले पनि विशेष सावधानी अपनाउनुपर्छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले विशेष सावधानी अपनाउनुपर्छ । पहिरो जाने सम्भावना भएका सडक तथा क्षेत्रमा यात्रा गर्दा सचेत रहनुपर्छ । मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राखेर मात्रै यात्रा गर्नुपर्छ । यद्यपि, अहिलेसम्मको पूर्वानुमानअनुसार वर्षा हुँदैमा आत्तिनुपर्ने अवस्था देखिएको छैन । तर जोखिमयुक्त क्षेत्रमा भने सतर्कता आवश्यक छ ।’

    मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य भएको उहाँले स्पष्ट पार्नुभयो । अक्टोबर र नोभेम्बर सामान्यतः नेपालमा मौसम सफा रहने समय भएपनि यही अवधिमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहने उहाँले बताउनु भयो । समुन्द्रमा विकसित हुने सबै चक्रवात वा न्युन चापीय प्रणाली नेपालसम्म आइपुग्ने नभएपनि उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेका प्रणालीले वर्षा र हिमपात गराउन सक्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनले नयाँ मौसमी घटना सिर्जना गर्नुभन्दा पनि यस्ता घटनाको आवृत्ति र तिब्रतामा प्रभाव पार्न सक्ने उहाँले बताउनुभयो । यसको नियमित अध्ययन आवश्यक रहेको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘मनसुन सकिएपछि अहिले हामी मनसुनपछिको सिजनमा छौँ । यो समयमा पनि वर्षा कसरी भयो भन्ने जिज्ञासा धेरैमा हुन्छ । यसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा पनि हेरिएको हुनसक्छ । नेपालमा अक्टोबर–नोभेम्बर सामान्यतया मौसम राम्रो हुने समय हो । दसैँ–तिहारजस्ता ठूला चाडपर्व पनि यही समयमा पर्छन् । यद्यपि, बङ्गालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सिजन पनि यही हो । त्यहाँ विकसित भएका सबै चक्रवात वा न्यून चापीय क्षेत्र नेपालसम्म आइपुग्छन् भन्ने हुँदैन । तर, कुनै प्रणाली उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेमा त्यसले वर्षा गराउन सक्छ । विशेषगरी, चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर वा उत्तरपश्चिमतर्फ सर्दा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ ।

    यस्तो प्रणालीले वर्षा गराउनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्छ । यस्ता घटना यसअघि पनि भएका छन् । त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन । जलवायु परिवर्तनको सन्दर्भमा हामीले ध्यान दिनुपर्ने मुख्य कुरा यस्ता घटनाको आवृत्ति र तिब्रता हो । जलवायु परिवर्तनले नयाँ प्रकारका घटना मात्रै निम्त्याउने होइन, पहिले पनि हुने गरेका घटनाको आवृत्ति र तीव्रतामा समेत परिवर्तन ल्याउन सक्छ ।’

    उहाँले मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना तथा सामाजिक सञ्जालबाट जारी हुने अद्यावधिक हेर्न आग्रह गर्नुभयो । हल्लाको पछाडी लागेर त्रासमा नबस्न र हेलचेक्र्याई पनि नगर्न उहाँको सुझाव छ । आधिकारिक सूचना र पूर्वानुमानका आधारमा आफ्नो गतिविधि तय गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले मौसमसम्बन्धी जानकारीका लागि सम्बन्धित सरकारी निकायसंग समन्वय गरिरहेको पनि जानकारी दिनुभयो ।