२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

आफ्नो नाम नराखिएको भन्दै मर्चवारी गाउँपालिका उपाध्यक्षद्वारा शिलालेख तोडफोड

बिहिवार , जेठ २७, २०७८

भैरहवा, २७ जेठ ।
रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवारले शिलालेख तोडफोड गरेकी छन् । मर्चवारी–७ मंझरीयामा बनेको झोलुङ्गे पुलमा राखिएको शिलालेख तोडफोड गरेकी हुन् । पुलको २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले शिलान्यास गरेका थिए । शिलान्यास गरिएको पुलको शिलालेखमा तोडफोड भएपछि सामान्य क्षति भएको छ । 

मर्चवारी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको संयुक्त लगानीमा बनेको झोलुङ्गे पुलको आज (बिहीबार) भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन कार्यक्रम रहेको थियो । कार्यक्रमस्थल नै विवादित भएपछि औपचारिक उद्घाटन कार्यक्रम समेत स्थगित भएको छ । उपाध्यक्ष कलवारले झोलुङ्गे पुल सम्पूर्ण जनप्रतिनिधिको सहयोगमा बनेकोले उपाध्यक्षको नाम किन नराखिएको भन्दै शिलालेख तोडफोड गरेकी छन् । शिलान्यास गरिएको पुलको शिलालेखमा मेरो नाम राखिएन, उद्घाटन हुन लागेको पुलको शिलालेखमा नाम राख्न अनुरोध गर्दा पनि समेत मेरो नाम राखिएन, उनले भने । 

मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाले उक्त घटना सामान्य भएको बताए । अध्यक्ष बनियाले भने ‘यस्तो कार्य विभिन्न क्षेत्रमा हुने गर्दछ, स्थानीय पालिकामा पनि यस्तो विवाद भइरहन्छ ।’ शिलान्यास गर्ने व्यक्तिको नाम लेखिने गरेको उनले बताए । ‘जब उपाध्यक्षज्यूले शिलान्यास नै गर्ने कार्यक्रम थिएन, कसरी उहाँको नाम राख्ने ? बनियाले प्रश्न गरे ।

धेरै जनप्रतिनिधि भएको गाउँपालिकामा सबैको नाम शिलालेखमा राख्न सम्भव नभएको उनले बताए । अहिलेको विवादलाई हल गर्न तत्काल मार्करबाट उपाध्यक्षको पनि नाम लेखिएको उनको भनाइ छ । पुनःअर्को शिलालेखमा उपाध्यक्षको पनि नाम समेटिने गरी शिलालेख बनाउने प्रयास गर्ने अध्यक्ष बनियाले जानकारी दिए ।