images

सोमवार, बैशाख २४ गते २०८१

बिरामीको रोजाइ बन्दै भीम अस्पताल

बिरामीको रोजाइ बन्दै भीम अस्पताल

images
images
images
शुक्रवार, जेठ २१ २०७८
शुक्रवार, जेठ २१ २०७८
  • बिरामीको रोजाइ बन्दै भीम अस्पताल

    भैरहवा, २१ जेठ । 
    कुनै बेला सरकारी अस्पताल भनेपछि धेरैले नाक खुम्च्याउने गर्दथे । सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा पाइँदैन भन्ने सोच बिरामी र उनीहरुको आफन्तमा थियो । उनीहरु कि त निजी स्वास्थ्य संस्थामा जान्थे, कि भैरहवा बाहिर बुटवल, चितवन, काठमाण्डौं लगायतका ठूला शहरमा जान्थे । त्यसमा पनि भैरहवाको भीम अस्पताल भनेपछि त सकेसम्म भित्रै छिर्न खाज्दैनथे । भैरहवाको केन्द्र भागमा भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा र विशेषज्ञ डाक्टरको अभावमा राम्रो उपचार हुन नसक्ने भएपछि बिरामीहरु अस्पताल भित्र छिर्न डराएका हुन् । 

    images
    images
    images

    तर, रुपन्देही जिल्लाको पुरानो अस्पतालको रुपमा रहको भैरहवास्थित भीम अस्पताल दशकौ पछि अहिले भने यो अस्पताल सबैको रोजाइमा परेको छ । समयक्रमसंगै भीम अस्पतालको मुहार फेरिदै गएको छ । विशेष गरी यो अस्पताल प्रदेश सरकार मातहत आएपछि यसको स्तरोन्नति र विकासमा थप काम भएपछि अहिले अस्पतालप्रति आम नागरिकको विश्वास बढ्दै गएको हो । 

    संघीयता कार्यान्यवनको सुरुवातसंगै लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको पुरानोमध्यको यो अस्पतालका लागि विभिन्न योजनाहरु अघि सारेको छ । वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पताल रुपन्देहीको सदरमुकाम भैरहवामा छ । विशेष गरी मध्यम र विपन्न वर्गका नागरिकका लागि यो अस्पताल बरदान सावित भएको छ । अहिले भैरहवाबासीका लागि मात्रै नभइ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारसहित जिल्लाका विभिन्न क्षेत्र, नवलपरासी, कपिलवस्तुका बिरामी पनि उपचारको लागि यहाँ आउने गरेका छन् ।

    गत वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएसंगै अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ । सुरुवाती चरणमै अस्पतालले कोरोना संक्रमितको उपचारमा उल्लेखनीय भूमिका खेलेको थियो । पहिलो चरणको कोभिड संक्रमितको उपचारमा अस्पतालले राम्रै गरी प्रदेशमा नाम कमाएको थियो । 

    कोरोना संक्रमितलाई निको बनाएर उनीहरुको मन जित्न सफल भएको थियो भीम अस्पताल । अस्पतालबाट उपचार पाएर संक्रमितहरु कोरोनामुक्त भएपछि घर फर्कन लाग्दा नाचगान गरी खुशीयाली नै मनाएका थिए । पहिलो चरणको कोभिड संक्रमितको उपचारको नेतृत्व मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले गरेका थिए । अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय भएको उपचार पछि घर फर्किएकाहरु बताउँछन् । 

    दोस्रो चरणको कोभिड–१९ र निमोनियाबाट ग्रस्त भइ उपचारका लागि भीम अस्पताल पुगेका सिद्धार्थनगर–७ का विष्णु अधिकारीले भीम अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए । ‘कोरोना संक्रमणसंगै निमोनिया भएको अवस्थामा अस्पताल प्रशासन, डाक्टर तथा नर्सहरुको व्यवहार, उपचार र हौसलाले १३ दिनै परास्त गरेर गर फर्किन पाए, उनले भने यो समयमा उहाँहरुले गरेको सेवाप्रति म सधै ऋणी छु, ’उनले भने । उपचार गुणस्तरीय भएका कारण भीम अस्पतालमा अहिले आफू जस्तै थुपै्र बिरामी उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ । 

    पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर आएपछि विभिन्न चुनौतीहरु थपिए । वैशाखको पहिलो हप्ता कोरोना संक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पतालाई व्यवस्थापन गर्न केही समय कठिन पनि भयो । तर अस्पताल व्यवस्थापन र प्रशासन आफ्नो कामबाट विचलित भएन ।

    पहिलो चरणमा भन्दा दोस्रो चरणमा निकै ग्राहो भयो 

    ‘पहिलो लहरमा त्यत्ति ग्राहो भएन, म भदौमा अस्पतालमा हाजिर हुँदा यहाँको अवस्था राम्रै थियो, तर दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि केही समस्या उत्पन्न भयो,’ अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले भनिन् ।IMG-20210512-WA0004.jpg

    डा. गुप्ताका अनुुसार दोस्रो लहर सुरु भएपछि अस्पतालाई तीन वटा कुराको व्यवस्थापन गर्न समस्या भयो, बेड, अक्सिजन र जनशक्ति । पहिलो लहरमा अस्पतालमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई घर जान खासै समस्या नभए पनि दोस्रो लहरमा संक्रमणको दर बढेपछि घर जान समस्या नै भयो । स्वास्थ्यकर्मीलाई कहाँ राख्ने, कहाँ बास र खानाको व्यवस्था गर्ने चुनौति थपिएकोले प्रशासन कार्यालयसंग समन्वय गरी उहाँहरुको व्यवस्थापन गरिएको डा. गुप्ताले बताइन् । अस्पतालमा आएका अधिकांश बिरामीहरुलाई अक्सिजनको आवश्यकता भएपछि अक्सिजन पाउन समेत ग्राहो भएको उनले बताइन् ।
    ‘संक्रमितले अक्सिजन नपाए आधा घण्टामै बिरामीको ज्यान जान्छ भनेर राती १२ बजे, ३ बजे पनि फोन आउँथ्यो, वास्तवमा पीडादायी अवस्था थियो,’उनले भनिन् तर हामीले अनेकन प्रयास गरेर समस्याको समाधान गरेरै छाड्थ्यौ । थुप्रै सिकिस्त बिरामी एकैपटक आउने र उहाँहरुलाई आइसीयू र भेन्टिलेटर चाहिने भए पनि अस्पतालमा ४–५ वटा मात्रै आइसीयू/भेन्टिलेटर रहेकाले केही समय उपचारमा निकै असहज अवस्था आएको उनको भोगाइ छ । 

    ‘अस्पताल पुगेका बिरामी र बिरामी कुरुवाले बेड नपाए पनि बाहिरै बस्छौं, यही उपचार हुनुपर्छ, तर घर जाँदैनौ भनेपछि उहाँहरु यही बस्नुभयो,’ उनले भनिन् यसले आफूहरुमा सकारात्मक उर्जा थपिएको र उपचारमा थप हौसला पनि बढ्यो र त्यही अनुरुप काम गर्यौं। 

    पहिलो चरणको कोभिडपछि लीलाराम न्यौपाने–कुन्तीदेवी प्रतिष्ठानले अस्पताल परिसरमा आकस्मिक कक्ष (इमरजेन्सी ब्लक) निर्माणसम्पन्न गरेको थियो । त्यसपछि कोरोना अस्पताल सञ्चालन गर्न थप सहज भएको डा. गुप्ताको भनाइ छ । ‘प्रतिष्ठानकै पहलमा थप १२ वटा अक्सिजनसहितको बेड राखियो, जसले गर्दा बिरामीको उपचारमा सहज भयो,’ उनले भनिन् ।

    अस्पताल समितिले अध्यक्ष पाएपछि व्यवस्थापनमा थप सहज 

    यसैबीच अस्पताल विकास समितिले नेतृत्व पाएपछि क्रमश : अवस्था सहज हुँदै आएको डा. गुप्ताको भनाइ छ । सुरुवाती चरणमा दैनिक ३ सय अक्सिजन सिलिण्डर आवश्यक भए पनि अहिले भने दैनिक २ सय ४० सिलिण्डर आवश्यक रहेको उनले बताइन् ।

    अस्पतालले कोरोना संक्रमित बिरामीको वैशाख २ गतदेखि उपचार गर्न सुरु गरेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । हालसम्म ३ सय ५० बढी संक्रमितको उपचार गरिएको र जसमध्ये १ सय बढी बिरामी निको भएर डिस्चार्ज भएका छन्। 

    दोस्रो चरणको लहरमा १ सयको हाराहारीमा कोभिड संक्रमितको उपचारका क्रममा मृत्यु भएको सुचना अधिकारी डा. पोखरेलको भनाइ छ । हाल अस्पतालमा ४८ जना संक्रमित उपचाररत रहेको उनले बताए । 

    अस्पताल विकास समितिले नेतृत्व पाएको धेरै समय भएको छैन् । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को वैशाख २२ गतेको निर्णयबाट अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका नारायण प्रसाद भण्डारीले जेठ ४ गते पदभार ग्रहण गरेका छन् ।

    अध्यक्षको जिम्मेवारी सम्हालिसकेपछि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनले पहिलो प्राथमिकतामा राखेका छन् । भण्डारी उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष समेत हुन् । ‘कोरोना महामारीको विषम परिस्थितिमा मलाई प्रदेश सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) ले महत्वपूर्ण जिम्मेवारी दियो, बिरामीले अक्सिजन, बेड नपाएको अवस्थामा र मान्छे घरबाहिर निस्कने वातावरण नभएको र व्यवसाय बन्द भएको बेला जिम्मेवारी सम्हालेको छु, विभिन्न चुनौति छन्, ती चुनौतिलाई अवसरको रुपमा लिएर केही गर्ने सोचसहित काम गरिरहेको छु,’ भण्डारीले भने ।

    धेरै भन्दा धेरै बिरामीको उपचार गर्न सकिन्छ कि भनेर आफूले जिम्मेवारी सम्हालेको उनले बताए । अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु दिनरात खटेर काम गरिरहेको उनले बताए । 

    अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने पहिलो योजना 

    तत्कालको योजना भनेको अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने, अस्पतालमा आएका बिरामीलाई बेड र अक्सिजनको सुविधा दिइ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रहेको उनले बताए । ‘ठूला योजना तत्काल अगाडी बढायौं भने अहिले अत्यावश्यक काम अवरोध हुन सक्छ, अक्सिजन प्लान्ट स्थापना जडान गर्ने योजना गरेर सूचनामा गएको छौं, योजना अनुसार काम अगाडी बढे अस्पतालमा आगामी असार मसान्तभित्र अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन्छ, ’उनले भने । 
    अस्पतालमै जडान भएको प्लान्टले बिरामीलाई अक्सिजन दिन सकिने उनको भनाइ छ । अक्सिजन प्लान्ट जडानका लागि उद्योगी, व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको सहयोग निरन्तर आइरहेको भण्डारीले जानकारी दिए । उनका अनुसार असार मसान्तभित्रै ५ वटा भेन्टिलेटर र केही आइसीयू÷एचडीयू बेड थप्ने गरी काम अगाडि बढेको छ । 
    लामो समयको योजना भनेकै अस्पताललाई १ सय शैया बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्ने रहेको उनले बताए । ‘अस्पतालको स्तरोन्नति गर्न पहिलो बैठकबाट निर्णय गरेर मन्त्रालयमा पत्र पनि पठाइसकेका छौं, अस्पतालमा नयाँ भवन बनाउनको लागि दुई भागमा बनाउन पहिलो भागको टेण्डर भइसकेको छ, र ठेकेदारसंग सम्झौता भइसकेको छ, ठेकेदारसंग सम्झौता गरेर आगामी १५ दिनभित्रै भवनको शिलान्यास गर्नेतर्फ अघि बढेका छौं, ’भण्डारीले भने । अस्पतालको पश्चिम क्षेत्रमा हाल क्यान्टिन रहेको क्षेत्रमा पुरानो भवनलाई विस्थापित गरेर नयाँ भवन निर्माण गरिने उनले बताए ।

    ‘यहाँका स्थानीयवासी सकभर भीममा जान नपरे हुन्थ्यो भन्ने सोचका साथ युनिभर्सल मेडिकल कलेज वा बुटवल जानुहुन्थ्यो, तर अहिले ठयाक्कै यो अवस्था परिवर्तन भएको छ, अहिले यहाँका पुराना धनाढ्य वर्गका बिरामी अस्पतालमा उपचाररत हुनुहुन्छ,’ उनले भने ।

    भीम अस्पताल अहिले सबैको आशाको केन्द्र भएको उनले बताए । धेरैजसो बिरामी साविकको लुम्बिनी अञ्चलका जिल्लासहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अस्पतालमा आउने गरेको उनको भनाइ छ । ‘अस्पतालमा गुणस्तरीय सेवा पाएर वा राम्रो उपचार पाएको भएर बिरामी र बिरामीका आफन्तले अस्पताल रोज्नुभएको छ भन्ने विश्वास गरेका छौं, यो विश्वासलाई कायम राख्दै अस्पतालको सेवालाई अझ गुणस्तरीय र विश्वासको केन्द्रको रुपमा अगाडी बढाउन हामी झण्डै १५० जनाको टिमसहितको अस्पताल परिवार लागिपरेका छौं, ’उनले भने । सिंगो टिम अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको उनले बताए ।
    लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय भीम अस्पतालले विगतको तुलनामा धेरै कोरोना संक्रमित बिरामीहरुको उपचार गरेर निको पार्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेको बताउँछन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij