आइतवार , मंसिर ६, २०८३
भैरहवा, ६ मंसिर । रुपन्देहीको भैरहवामा आइतबारदेखि तीनदिने बेसिक वाई–एडाप्ट तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना, सिद्धार्थनगर नगरपालिकाको सहकार्य तथा स्वीस रेडक्रसको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा सिद्धार्थनगर नगरपालिकाभित्रका विभिन्न सामूदायिक विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको रेडक्रस रुपन्देहीको परियोजना अधिकृत सुरक्षा भट्टराईले बताउनुभयो ।
तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख जाह्नवी पाण्डेले आजका बालबालिका र विद्यार्थी भविष्यका कर्णधार भएको बताउनुभयो । उहाँले पढाइसँगै सामाजिक क्षेत्रमा पनि विद्यार्थीहरूको भूमिका महत्पूर्ण रहने उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तनका कारण विश्वले विभिन्न प्रकारका विपद्को सामना गर्नुपरेको बताउँदै उहाँले गर्मी, चिसोलगायतका कारण पनि विपद् निम्तिन सक्ने भएकाले पूर्वतयारी आवश्यक रहेको धारणा राख्नुभयो । तालिममा सिकेका ज्ञान र सीप अरूसँग बाँड्दै व्यवहारमा उतार्न आग्रह गर्दै उहाँले यसले विद्यार्थीहरूको नेतृत्व क्षमता विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति राम चन्द्र उपाध्यायले विद्यार्थीहरूको उल्लेखनीय सहभागीताले आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले तालिममा प्राप्त अवसरको भरपूर सदुपयोग गर्न आग्रह गर्नुभयो । सभापति उपाध्यायले पढाइसँगै सामाजिक जीवन र सामाजिक उत्तरदायित्व पनि महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
विपद् आउन नदिनु सबैको चाहना भए पनि विपद् आइहाले त्यसको सामना गर्न पूर्वतयारी आवश्यक रहेको उहाँको भनाइ थियो । तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्दै उहाँले सिकाइलाई समाजमा समेत विस्तार गर्न आग्रह गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका विपद् फोकल पर्सन खेमराज गैरेले नेपालमा विभिन्न समयमा विपद्का घटना भइरहेकाले त्यसको प्रतिकार्यका लागि आवश्यक ज्ञान र सीप हासिल गर्नुपर्ने बताउनुभयो । विद्यालयबाट छनोट भएर तालिममा सहभागी विद्यार्थीहरूलाई ध्यानपूर्वक सिक्न आग्रह गर्दै उहाँले सिकेका कुरा विद्यालय र समुदायमा फैलाउँदै व्यवहारमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
तालिमको उद्देश्यबारे प्रकाश पार्दै प्रमुख प्रशिक्षक रिमा महर्जनले जलवायु परिवर्तन, यसका असर, समुदायमा पर्ने प्रभाव, स्थानीय स्रोतसाधनको पहिचान, विपद्का प्रकार तथा विपद् जोखिम न्यूनीकरणका उपायबारे सहजीकरण गरिने बताउनुभयो ।
सानो प्रयासबाट पनि विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने विषयमा तालिम केन्द्रित रहने उहाँले जानकारी दिनुभयो । तालिमको अन्तिम दिन सहभागीहरूले कार्ययोजना निर्माण गर्ने र सिकेका ज्ञान तथा सीप विद्यालयमा अन्य विद्यार्थीहरूसँग पनि बाँड्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको उपसभापति रुमा कुमारी हिराचनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी सुपर टु परियोजनाको फिल्ड कोअर्डिनेटर प्रभा थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिमको प्रमुख प्रशिक्षक रिमा महर्जनसहित प्रशिक्षकद्वय खड्क प्रसाद शर्मा र मनिष लामिछाने क्षेत्रीले सहजीकरण गर्नुहुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij