शुक्रवार , मंसिर ४, २०८३
काठमाडौं, ४ मंसिर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताउनुभएको छ ।
जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उहाँले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गर्नुभयो ।
उहाँले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताउनु भयो । आगामी चैत–वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उहाँको भनाइ छ । मन्त्री लम्सालले जनकपुरधामको विकासका लागि आवश्यक पूर्वाधारमा क्रमशः लगानी बढाउँदै लगिने पनि बताउनु भयो । विवाहपञ्चमी महोत्सवलाई प्रवद्र्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पर्यटन बोर्डमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रश्ताव तयार पार्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समितिको खातामा आवश्यक बजेट उपलब्ध गराउने र पर्यटन बोर्डमार्फत पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरियो। आवश्यक कामको विवरण र बजेट योजना तयार गरी प्राविधिक टोलीसँग छलफल गर्ने सहमति भयो । जनकपुरधामलाई सुन्दर, व्यवस्थित र आकर्षक सहर बनाउने अभियान शुरु भइसकेको र चैत–वैशाखसम्म उल्लेखनीय परिवर्तन देखिने विश्वास व्यक्त गरियो । जानकी मातासँग सम्बन्धित सम्पदाहरूको पुनर्निर्माण तथा व्यवस्थापनलाई प्राथमिकता दिइने बताइयो । साथै, विवाहपञ्चमीलाई भव्य बनाउन संघीय सरकारबाट बजेट विनियोजन र प्रवद्र्धनका विषयमा पनि छलफल भइरहेको जानकारी दिइयो ।’
उहाँले प्राविधिकहरूसँग छलफल गरेर बजेट तथा कार्यक्रमको योजना बनाउन र विवाहपञ्चमीलाई भव्य रूपमा सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij