
मंगलवार , जेठ ११, २०७८
भैरहवा, ११ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले केपी शर्मा ओलीप्रति नै सर्वसाधारणको सहानुभूति बढिरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्र र बाहिरका शक्तिहरु एक ठाउँ उभिएको भए पनि त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको नरहेको उनको भनाइ छ ।
मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘अहिले केपी शर्मा ओलीकाविरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाकाविरुद्धमा केन्द्रित थियो, त्यतिबेला उहाँको तीव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’
आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र बुझिरहेका पोखरेलको भनाइ छ । प्रतिपक्षी दलहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएको उनले आरोप लगाएका छन् ।
दलीय अनुशासन र संसदीय प्रणालीकाविरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
‘विगतमा गिरीजाको खोजी भए जस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लिऔं र सही बाटोमा अघि बढौं, स्टाट्समा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij