२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

अमेरिका र इरानलाई संयमता अपनाउन इजिप्टको आग्रह

बुधवार , कार्तिक १८, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, १८ कार्तिक । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले संयुक्त राज्य अमेरिका र इरानलाई बढ्दो तनाव कम गर्न अधिकतम लचकता अपनाउन र सैन्य द्वन्द्वबाट टाढै रहन आग्रह गर्नुभएको छ ।

    कायरोमा स्लोभेनियाकी राष्ट्रपति नतासा पिर्क मुसारसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति सिसीले दुवै राष्ट्रलाई सैन्य विकल्पभन्दा कूटनीतिक संवादको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको हो । राष्ट्रपति सिसीले पछिल्लो समय अमेरिका र इरानबीच बढ्दै गएको तिक्तताले क्षेत्रीय स्थायित्वमा गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले दुवै पक्षलाई आ–आफ्ना आधारभूत माग र सरोकारहरूलाई सम्बोधन गर्न ‘समझदारी र संवादका लागि पर्याप्त ठाउँ’ सिर्जना गर्न सुझाव दिनुभयो ।

    ‘इजिप्ट दुवै देशलाई यस संवेदनशील घडीमा अधिकतम लचकता प्रदर्शन गर्दै द्वन्द्व अन्त्यका लागि साझा आधार खोज्न आग्रह गर्दछ,’ सिसीले भन्नुभयो । हाल अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिइरहेको छ भने इरानले आफ्ना सर्तहरू पूरा भएमा वार्ताका लागि तयार रहेको संकेत दिँदै आएको छ ।

    यस्तो जटिल अवस्थामा इजिप्टको यो मध्यस्थताको प्रयासलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण मानिएको छ । राष्ट्रपति सिसीले थप प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, ‘इजिप्टले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर तनाव कम गर्न र जारी सङ्कटको शान्तिपूर्ण निकास खोज्न निरन्तर काम गरिरहनेछ ।’ इजिप्टको यो अभिव्यक्तिले मध्यपूर्वमा थप सैन्य भिडन्त रोक्नका लागि कूटनीतिक दबाब सिर्जना गरेको विश्लेषकहरू बताउँछन् ।