२०८३, कार्तिक १७ गते

Nov 03 2026 | २०८३, कार्तिक १७ गते

नेपालको व्यवहार र परराष्ट्र नीतिले छिमेकी राष्ट्रहरू झस्किने अवस्था आउन दिनु हुँदैन : प्रदीप ज्ञवाली

मंगलवार , कार्तिक १७, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    काठमाडौंमा काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्राइन्डसीप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आवद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार नै परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

    उहाँले गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिमा प्रभाव पारेको उल्लेख गर्दै कुनै पनि अतिवादी धारमा नलागी सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताउनु भयो । छिमेकी मुलुकहरूसँगको सम्बन्धमा अविश्वास बढ्ने खालका गतिविधि र परराष्ट्र नीति अवलम्बन गर्न नहुने उहाँको भनाइ छ । नेता ज्ञवालीले नेपालप्रति छिमेकी मुलुकहरूको विश्वास कमजोर भए शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभयो ।

    छिमेकी मुलुकहरुलाई विश्वासमा लिएर अघि बढ्न नसके नेपालमाथि थेग्न नसक्ने गरी भूराजनीतिक दबाब सिर्जना हुनेतर्फ नेपाल सधैं सजग हुनुपर्नेमा समेत उहाँको जोड छ । नेता ज्ञवालीले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत दुवैसँगको सम्बन्धलाई अवसरका रूपमा लिनुपर्ने समेत बताउनु भयो ।

    उहाँले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र जनसंख्याको आधारमा महत्वपूर्ण मुलुक हुनुका साथै ठूलो उपभोक्ता बजार, नवप्रवर्तनको केन्द्र र उत्पादन तथा आर्थिक वृद्धिको इन्जिन रहेको उल्लेख गर्नुभयो । नेपालले ठूला मुलुकहरूको बीचमा रहेको भौगोलिक अवस्थालाई कमजोरीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै दुवै छिमेकीसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘गौतम बुद्धको जुन मध्यम मार्ग छ त्यो मध्यम मार्गले पनि हाम्रो परराष्ट्र नीतिलाई कहीँ न कहीँ प्रभाव पारेको छ । कुनैपनि एक्सट्रिममा नलाग्ने, कुनै कित्तामा नउभिने, कुनै स्ट्राटेजिक ब्लकहरूमा नजोडिने, असंलग्नता, पञ्चशीलताका कुराहरु खोज्दै जाने हो भने त्यहाँ भेटिन्छ ।

    त्यसकारणले इतिहासको यो पक्षलाई ध्यानमा राखेर नेपालले सधैं पनि स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हुन्छ । हाम्रा कुनै पनि व्यवहारले हाम्रा छिमेकीहरू झस्किने, हामीप्रति अविश्वास बढ्ने खालको नीति नेपालले अवलम्बन गर्नुहुँदैन ।

    कुनै एउटा लेखकले भनेका छन् जस्तो हाम्रो सम्बन्ध पारदर्शी र विश्वसनीय भयो भने उनीहरूले नेपालको लिडरसिपलाई, नेपाललाई विश्वास गरेर आफ्नो दायरामा बस्छन् । तर यदि कुनै दिन लाग्यो ढुक्क हुन सकिने अवस्था छैन भनेदेखि शक्ति राष्ट्रहरू गेम प्ले गर्न थाल्छन् । शक्ति राष्ट्रहरू आफैं अगाडि आउन थाल्छन् जुन कुरा नेपााले एफोर्ड गर्न सक्दैन । यो कुरालाई ध्यानमा राखेर सन्तुलित सम्बन्ध हाम्रो परराष्ट्र नीतिको एउटा महत्वपूर्ण आधार हुनुपर्छ ।

    अहिले हाम्रो परराष्ट्र नीति कति सन्तुलित छ, हामीले चालिरहेका कदमहरूले हाम्रो छिमेकीहरूको विश्वास कति जित्न हामीले सकेका छौं, हाम्रा क्रियाकलापहरू हामीले विगतमा अवलम्बन गर्दै आएका यी फन्डामेन्टलहरूसँग कति मिल्दाजुल्दा छन् ? विद्वत समुदायले आफैं विश्लेषण गरेको छ भन्ने मलाई लाग्छ ।

    जुन दिन हामी चिप्लियौं त्यो सन्तुलनको एउटा टाइट रोपमा हामी हिँडिरहेका छौं, त्यो सन्तुलन गुमायौं भने र कुनै पनि छिमेकीप्रति अविश्वास बढ्ने एउटा स्थिति सिर्जना भयो भनेदेखि त्यसले नेपालले थेग्न नसकिने एउटा चाहिँ स्ट्रेस नेपाल माथि आइलाग्छ भन्ने कुरालाई हामीले सधैं हेक्का राख्नुपर्छ । दोस्रो, हामीले चीनसँगको सम्बन्धलाई कसरी अगाडि बढाउनुपर्ला ? अघि पूर्व विश्व्को दोस्रो ठूलो अर्थतन्त्र र पपुलेसन भएको मुलुक हो चीन ।

    सबभन्दा ठूलो कन्जुमर मार्केट हो । इनोभेसनको एउटा हब हो र ग्रोथको, प्रोडक्सनको एउटा इन्जिन हो ।  दक्षिणतिरको छिमेकी पनि उत्तिकै महत्वपूर्ण छ । हामी त ठूला देशको बीचमा मिचिएका छौं भन्ने हीन भावना होइन, यो एउटा अपर्चुनिटीको रुपमा हामीले यी कुराहरुलाई लिनुपर्छ ।’

    उहाँले चीनको कम्युनिष्ट पार्टी संगठनात्मक र नीतिगत रुपमा व्यवस्थित रहेको भन्दै त्यसबाट नेपालका कम्युनिष्ट पार्टीहरुले समेत पाठ सिक्नुपर्ने बताउनु भयो ।