बिहिवार , कार्तिक १२, २०८३
काठमाडौं, १२ कार्तिक । यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न स्थानलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ ।
समूहले रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरूमध्य नजिक सरकारी सेनाले गरेको स्थल आक्रमण पनि विफल पारेको जनाएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले मंगलवार सामाजिक सञ्जाल एक्समार्फत शृङ्खलाबद्ध वक्तव्य जारी गर्दै रियादस्थित साउदी रक्षा मन्त्रालयलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन् । उक्त क्षेप्यास्त्रले लक्ष्यमा प्रत्यक्ष प्रहार गरेको उनको दाबी छ । उनकाअनुसार अर्को दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र साउदी सैन्य विमानलाई लक्षित गरी प्रहार गरिएका थिए ।
तीमध्ये एउटा नजरान प्रान्तको नजरान विमानस्थलमा र अर्को असिर प्रान्तको खमिस मुशैतस्थित किङ खालिद हवाई सैन्य अखडामा लक्षित गरिएको उनले बताएका छन् । दुवै आक्रमणले लक्ष्य हासिल गरेको उनको दाबी छ । त्यस्तै, दक्षिणपश्चिमी असिर प्रान्तस्थित अब्हा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरिएको र त्यसबाट उडान सञ्चालनमा अवरोध पुगेको पनि हुथी समूहले जनाएको छ । यद्यपि, हुथी समूहका यी दाबीबारे साउदी अधिकारीहरूले तत्काल कुनै पुष्टि गरेका छैनन् । यसअघि मंगलवार साउदी नेतृत्वको गठबन्धनले हुथी समूहले रियादतर्फ प्रहार गरेका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई बीचमै अवरोध गरी नष्ट गरिएको जनाएको थियो ।
यसैबीच, हुथी सैन्य प्रवक्ता सरियाले बाब अल–मन्देब जलडमरूमध्यको दक्षिणी क्षेत्रबाट अघि बढेका यमनी सरकारी पक्षका सेनाको आक्रमण विफल पारिएको दाबी गरेका छन् । उनका अनुसार अघि बढिरहेका सेनालाई ब्यालेस्टिक क्षेप्यास्त्र तथा भारी हतियारबाट लक्षित गरिएको थियो ।
उक्त कारबाहीमा ठूलो मानवीय क्षति भएको र केही सैन्य सवारीसाधन नष्ट भएको उनको दाबी छ । मंगलवार बिहान सरकारी सेनाले उक्त रणनीतिक जलमार्ग वरपरका क्षेत्रमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका बाँकी स्थानहरू कब्जा गर्ने उद्देश्यले स्थल आक्रमण पुनः शुरु गरेको थियो । लालसागरलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मन्देब जलडमरूमध्य विश्व व्यापार तथा अन्तर्राष्ट्रिय जलयातायातका लागि महत्वपूर्ण समुन्द्री मार्ग हो ।
यमनमा सन् २०१४ को अन्त्यमा हुथी विद्रोहीले राजधानी सना र उत्तरी यमनका ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व जारी छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको समर्थनमा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सन् २०१५ मा द्वन्द्वमा संलग्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij