बिहिवार , आश्विन २९, २०८३
भैरहवा, २९ असोज । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले दशैं, तिहार, छठ, नेपाल नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
बुधबार भैरहवामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगीङ्गव्यवसायीले नाफा कमाउने उद्देश्यले व्यवसाय सञ्चालन गरे पनि त्यसबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गर्दै आएको बताउनुभयो । उहाँले बाढीपीडित, आर्थिक अवस्था कमजोर भएका परिवार तथा उपचारमा समस्या भोगिरहेका बिरामीलाई व्यवसायीले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
वि.सं. २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी संघ भैरहवाले छोटो समयमै आफ्ना सदस्यहरूको हकहित संरक्षणसँगै सामाजिक क्षेत्रमा समेत उत्कृष्ट पहिचान बनाउन सफल भएको उहाँको भनाइ थियो । उहाँले संघका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो।
उद्योगी–व्यवसायी अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले व्यवसाय सञ्चालनका चुनौती समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार समेत रहनुभएका श्रेष्ठले सरकारले गरिरहेका सकारात्मक प्रयत्नलाई समर्थन गर्दै उहाँले उद्योगी–व्यवसायीका समस्या सम्बोधन हुने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले मदिरा व्यवसायीलाई कानूनी प्रावधानअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । कानून कार्यान्वयन गर्ने क्रममा केही व्यवसायीमाथि कारवाही गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले त्यसलाई व्यक्तिगत नभइ जिम्मेवारी निर्वाहका रूपमा बुझिदिन आग्रह गर्नुभयो । उहाँले अन्तःशुल्कमा दर्ता भएका तर लामो समयदेखि नवीकरण नभएका व्यवसायीका लागि सरकारले विशेष छुटको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार २०८२/०८३ र २०८३/०८४ को नवीकरण शुल्क तिरेपछि विगतका वर्षको नवीकरण शुल्कमा छुट पाउने व्यवस्था गरिएको छ । उक्त सुविधा असोज ३० गते शुक्रबारसम्म मात्र उपलब्ध हुने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा मदिरा व्यवसायी महासंघ नेपालका केन्द्रीय सल्लाहकार गिरीराज पौडेलले चाडपर्वले मौलिक संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले अवैध मदिराको कारोबार नगर्न र स्वदेशी मदिराको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले मदिरा व्यवसायी संघ भैरहवाले उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो । राज्यको नीति तथा नियमअनुसार व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले उपभोक्ताले गर्ने गल्तीको दोषसमेत व्यवसायीमाथि लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले मदिरा व्यवसाय सञ्चालनमा रहेका चुनौतीबारे चर्चा गर्नुभयो । उहाँले व्यवसायीले मर्यादित र अनुशासित रूपमा व्यवसाय गर्दै आएको बताउनुभयो । उहाँले चाडपर्वलाई भड्किलो बनाउन नहुनेमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले दशैं, तिहार र छठ धार्मिक तथा साँस्कृतिक उत्सव मात्र नभइ आपसी सम्बन्ध र सद्भाव सुदृढ गर्ने अवसरसमेत भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र खुला सीमासँग जोडिएको यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । यस क्षेत्रको आर्थिक चलायमानमा उद्योग, व्यवसाय, कृषि र पर्यटनको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहेकाले मदिरा व्यवसायी संघ भैरहवाले उत्कृष्ट संस्थाका रूपमा पहिचान बनाउन सफल भएको बताउनुभयो ।
होटल एशोसिएसन नेपाल (हान), लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले होटल र मदिरा व्यवसायबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले दुवै क्षेत्रले एकअर्काको व्यवसायबाट आर्थिक लाभ लिइरहेको बताउनुभयो ।
वडा प्रहरी कार्यालय, भैरहवाका प्रमुख (प्रहरी निरीक्षक) मान बहादुर बि.सी.ले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै मनोरञ्जनका नाममा अत्यधिक मदिरा सेवन गर्दा अप्रिय घटना हुन सक्ने भएकाले व्यवसायीलाई अबेरसम्म मदिरा विक्री नगर्न आग्रह गर्नुभयो ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका निवर्तमान महासचिव शंकर प्रसाद पाण्डेले मौलिक संस्कृतिको संरक्षणमा जोड दिँदै चाडपर्वमा भित्रिँदै गएका विकृतिप्रति सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्री, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, किराना तथा प्लास्टिक व्यवसायी संघ भैरहवाका अध्यक्ष टंकप्रसाद पौडेल, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य गोविन्दप्रसाद रेग्मी तथा नेपाल बजार प्रतिनिधि संघका उपाध्यक्ष जीवन घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सरुवा भइ अर्थ मन्त्रालय जान लाग्नुभएका आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेललाई सम्मानसहित बिदाई गरिएको थियो ।
मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष यादव पोख्रेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको स्वागत तथा महासचिव सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij