शनिवार , आश्विन १७, २०८३
भैरहवा, १७ असोज । स्थानीय तहमा महिलाको सहभागीता बढे पनि निर्णायक र शीर्ष नेतृत्वमा प्रायः पुरुषकै बाहुल्यता देखिने नेपालको वर्तमान परिप्रेक्ष्यमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुनवल नगरपालिका भने देशकै लागि एउटा नयाँ र उदाहरणीय नमूना बनेको छ ।
नगरपालिकाको राजनीतिक नेतृत्व (नगरप्रमुख) र प्रशासनिक नेतृत्व (प्रमुख प्रशासकीय अधिकृत) दुवै शीर्ष पदमा सक्षम र अनुभवी महिलाहरूको उपस्थिति रहेपछि सुनवलमा कार्यसम्पादन थप छरितो, पारदर्शी र नतिजा मुखी बन्दै गएको छ । यस सहकार्यले स्थानीय सरकार सञ्चालनमा सुशासन र समावेशी नेतृत्वको सकारात्मक सन्देश राष्ट्रिय स्तरमै प्रवाह गरेको छ ।
प्रदेशकै एकमात्र महिला मेयर : फिल्डमै खटिने बिमला अर्याल
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नगरपालिका तथा उपमहानगरपालिकाहरूमध्ये प्रमुख (मेयर) पदमा निर्वाचित हुने एकमात्र महिला जनप्रतिनिधि हुनुहुन्छ-बिमला अर्याल ।
लामो समयदेखि महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य र विपन्न वर्गको उत्थानमा क्रियाशील रहँदै समाजसेवाबाट राजनीतिमा आउनुभएकी अर्यालको कार्यशैली औपचारिक कार्यक्रममा मात्र सीमित छैन । विकास निर्माणका कामलाई गति दिन उहाँ निरन्तर फिल्डमै खटिनुहुन्छ । अधुरा आयोजनाहरू सम्पन्न गर्न र नयाँ रणनीतिक योजनाहरू अघि बढाउन उहाँ संघीय मन्त्रालय तथा विभिन्न निकायहरूसँग निरन्तर प्रभावकारी समन्वय गरिरहनुभएको छ ।
वर्षौंदेखिको जनविश्वासलाई भाषणमा होइन, काममार्फत प्रमाणित गरिरहनुभएकी अर्याल भन्नुहुन्छ-‘जनताले दिएको विश्वासलाई शब्दमा होइन, परिणामबाट प्रमाणित गर्नुपर्छ । महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने परम्परागत सोचलाई भाषणले होइन, हाम्रो काम र नतिजाले नै बदल्नुपर्छ ।’
दुर्गमको अनुभव र प्रशासनिक दक्षता : दुर्गा बञ्जाडे
नगरपालिकाको प्रशासनिक नेतृत्व सामान्य प्रशासन समूहकी उपसचिव दुर्गा बञ्जाडेले सम्हाल्नुभएको छ । वि.सं. २०६८ सालमा लोक सेवा आयोगमार्फत शाखा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गर्नुभएका बञ्जाडे २०७४ सालको उपसचिव पदमा पदोन्नति हुनुभएको हो ।
राष्ट्रिय योजना आयोगबाट सरुवा भइ हालै सुनवल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्न आउनुभएकी उहाँ निजामती वृत्तमा एक अनुभवी, आँटिलो र सफल प्रशासक मानिनुहुन्छ । आफ्नो करिब १५ वर्षको प्रशासनिक यात्राका क्रममा उहाँले करिब एक दशक देशका दुर्गम तथा विकट क्षेत्रहरूमा रहेर जनताको प्रत्यक्ष सेवा प्रवाहमा बिताउनुभयो ।
प्रशासनिक यात्राका क्रममा उहाँले नेपालका अत्यन्तै दुर्गम तथा विकट क्षेत्रका सरकारी कार्यालयहरूको सफलतापूर्वक नेतृत्व गरिसक्नुभएको छ । उहाँले जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी जस्तो संवेदनशील जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको छ भने पाल्पा र सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सेवा प्रदान गर्नुभएको छ । त्यसै गरी जाजरकोटमा जिल्ला हुलाक कार्यालय अन्तर्गत काम गर्नुभएको र सिन्धुलीको मरिण गाउँपालिकामा स्थानीय तहको दोस्रो निर्वाचनका क्रममा निर्वाचन अधिकृतको महत्वपूर्ण भूमिका समेत सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
दुर्गम क्षेत्रको भौगोलिक जटिलता, सीमित स्रोतसाधन र स्थानीय आवश्यकतालाई नजिकबाट बुझेर काम गर्नुभएका उहाँसँग कार्यसम्पादनको बलियो र परिपक्व अनुभव रहेको छ । उहाँको यही लामो प्रशासनिक अनुभव, स्पष्ट कार्यशैली र नेतृत्व क्षमता समग्र सुनवल नगरपालिकाका कार्यपालिका सदस्यहरू, कर्मचारी वृत्त तथा आम नागरिकका लागि अत्यन्तै भरपर्दो र अनुकरणीय बनेको छ ।
उहाँको यही लामो प्रशासनिक अनुभव, नियम–कानुनको पालनामा कडा अडान र पारदर्शीताप्रतिको प्रतिबद्धताले सुनवलको दैनिक कार्यसम्पादन र सुशासनलाई थप मजबुत बनाएको छ ।
‘कुशल महिला प्रशासक पाउँदा काम गर्न थप सहज : नगरप्रमुख अर्याल
प्रशासनिक प्रमुखका रूपमा दुर्गा बञ्जाडेको आगमनसँगै नगरको समग्र विकास र कार्यसम्पादनमा नयाँ ऊर्जा थपिएको नगरप्रमुख बिमला अर्यालको अनुभव छ । ‘स्थानीय तहमा महिला प्रशासकीय नेतृत्व आउँदा काम गर्न धेरै सहजता मिलेको छ,’नगरप्रमुख अर्याल भन्नुहुन्छ-‘अझ त्यसमा पनि प्रमुख प्रशासकीय अधिकृत बञ्जाडे मेडम जस्तो कुशल, अनुभवी र पहिला नेतृत्व गरेका स्थानहरूमा आफूलाई सफल प्रमाणित गरिसक्नुभएको प्रशासक पाउँदा मलाई नगरको विकास निर्माण र योजनाहरू अघि बढाउन थप उत्साह र सहजता महसुस भएको छ ।’
सहकार्य, चुनौती र विकासका प्राथमिकता
राजनीतिक नेतृत्वमा मेयर अर्यालको दूरदृष्टि र प्रशासनिक नेतृत्वमा बञ्जाडेको बलियो अनुभवका कारण सुनवलमा योजनाहरूको कार्यान्वयन, बजेट अनुशासन र कर्मचारी व्यवस्थापनमा उल्लेखनीय सुधार आउने आश छ।
चुनौतीहरूका बाबजुद दुवै नेतृत्वको आपसी समन्वय र सहकार्यले नगर विकासका कामलाई तीव्रताका साथ अघि बढाउने रणनीति तय गरिएको छ । हाल सुनवल नगरपालिकाले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषि र स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
स्थानीय सरकारको राजनीतिक र प्रशासनिक दुवै शीर्ष तहमा सक्षम महिला अधिकारीहरू रहेर देखाइएको यो सहकार्य र कार्यप्रभावकारिताले समग्र लुम्बिनी प्रदेश र सिंगो देशकै लागि सुशासन, समावेशी विकास र महिला नेतृत्वको एक उत्कृष्ट एवं प्रेरक नमूना प्रस्तुत गरेको छ ।
निष्कर्ष
राजनीतिक नेतृत्वमा नगरप्रमुख अर्यालको दूरदृष्टि र प्रशासनिक नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत बञ्जाडेको बलियो अनुभवले सुनवलमा नयाँ उत्साह थपेको छ । यो नेतृत्व–जोडीलाई नगरका समग्र कार्यपालिका सदस्य, कर्मचारी र स्थानीय नागरिकहरूकै पूर्ण साथ, सहयोग र बलियो विश्वास प्राप्त छ ।
अन्यथा सामान्यतया स्थानीय तहमा महिला नेतृत्वमाथि औँला उठाइने परम्परागत सोचलाई चिर्दै सुनवल नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजको त्रिवेणी सन्तुलनबाट विकास सम्भव छ भन्ने उदाहरण दिएको छ । शीर्ष नेतृत्वको यो सफल सहकार्य, दृढ इच्छाशक्ति र नागरिकको साथले सुनवललाई सुशासन, समृद्धि र महिला नेतृत्वको राष्ट्रिय नमूनाका रूपमा स्थापित गराएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij