२०८३, आश्विन १७ गते

Oct 03 2026 | २०८३, आश्विन १७ गते

घरदेखि नै अहिंसाको संस्कार विकास गर्न शान्ति समाजको आह्वान

शनिवार , आश्विन १७, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • बुटवल, १७ असोज । हिंसा रोक्ने जिम्मेवारी राज्य वा राजनीतिक नेतृत्वको मात्र नभइ हरेक व्यक्तिको बोली, व्यवहार, आचरण र अभ्यासबाट सुरु हुनुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले घर–घर, टोल–टोल र समाज–समाजमा अहिंसाको संस्कार विकास गर्न आह्वान गरेको छ।

    विश्व अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सहभागी वक्ताहरूले घृणा, द्वेष, विभेद र असहिष्णुतामुक्त समाज निर्माण नगरेसम्म वास्तविक शान्ति सम्भव नहुने बताए । उनीहरूले राजनीतिक, सामाजिक तथा व्यक्तिगत असहमतिलाई हिंसामा नभई संवाद, सहमति र सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दि ए।

    कार्यक्रममा समाजका सभापति अर्जुन ज्ञवालीले अहिंसासम्बन्धी कविता प्रस्तुत गर्दै अहिंसा कुनै औपचारिक दिवसमा गरिने सम्झना मात्र नभई दैनिक जीवनमा अपनाउनुपर्ने आचरण भएको बताउनुभयो । अहिंसाको सुरुवात परिवारबाट हुनुपर्ने र त्यसको प्रभाव टोल, समाज, राष्ट्र हुँदै विश्वसम्म पुग्नुपर्ने उहाँको भनाइ थियो।

    ज्ञवालीले ‘बोलीमा अहिंसा, व्यवहारमा अहिंसा र आचरणमा अहिंसा’ स्थापित गर्न सके मात्र शान्तिपूर्ण समाज निर्माण हुने उल्लेख गरे। मानिसले अर्को व्यक्तिलाई चोट पुर्याउने शब्द, घृणा र विभेदबाट समेत टाढा रहनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कृष्ण पाण्डे तथा पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले अहिंसा, मानव अधिकार, शान्ति, सामाजिक सद्भाव र पर्यावरण संरक्षणका विषयमा धारणा राख्नुभएको थियो ।

    वक्ताहरूले महात्मा गान्धीले सत्य र अहिंसालाई परिवर्तनको शक्तिका रूपमा स्थापित गरेको स्मरण गर्दै आजको समाजमा समेत यसको सान्दर्भिकता रहेको बताए । हिंसालाई केवल शारीरिक आक्रमणका रूपमा मात्र नहेरी घृणा, अपमान, धम्की, विभेद, असहिष्णुता र अधिकारमाथिको अतिक्रमणलाई समेत हिंसाकै व्यापक स्वरूपका रूपमा बुझ्नुपर्ने उनीहरूको भनाइ थियो ।

    डा. चापागाईंले मानव अधिकारको सम्मान र अहिंसाबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै अधिकारको संरक्षण र सम्मानबिना दिगो शान्ति सम्भव नहुने बताउनुभयो ।

    नेता कृष्ण पाण्डेले लोकतन्त्रमा असहमति स्वाभाविक भए पनि असहमतिलाई हिंसामा परिणत हुन नदिन राजनीतिक दल तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले प्रकृतिमाथिको अनियन्त्रित दोहनलाई समेत हिंसाको एउटा स्वरूपका रूपमा हेर्नुपर्ने बताउनुभयो । प्रकृति संरक्षण, जैविक विविधताको रक्षा र भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु पनि अहिंसाको अभियानसँग जोडिनुपर्ने उहाँको भनाइ थियो ।

    समाजका उपसभापति कृष्ण पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागीता थियो ।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूले महात्मा गान्धीको स्मरण गर्दै अहिंसा, शान्ति, सद्भाव र मानवताको कामना गर्दै दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमार्फत हिंसा, घृणा र द्वेषको अँध्यारो हटाउँदै घरदेखि विश्वसम्म शान्ति र सहअस्तित्वको उज्यालो फैलाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।