२०८३, मंसिर २ गते

Nov 18 2026 | २०८३, मंसिर २ गते

जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

शुक्रवार , आश्विन १६, २०८३

  • 967
    Shares
  • 967
    Shares
  • काठमाडौँ, १६ असोज । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिनुभएको छ । 

    प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीको क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले बिनाशर्त साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । शाहीले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासिनता देखाएको आरोप लगाउनु भयो । उहाँले लामो समयदेखि थन्किएका भ्रष्टाचारका ठूला काण्डहरूःजस्तै एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिद घोटालाको छानबिन कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले कानूनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ । यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ । हामी सरकारलाई सही मार्ग देखाउन चाहन्छौँ । सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, बरु सही बाटो देखाउन सक्नुपर्छ । हामी दास होइनौँ, त्यसैले सरकारका गलत कदमको विरोध गर्न हामी पछि हट्ने छैनौँ ।’

    रोजगारीको विषयमा चिन्ता व्यक्त गर्दै शाहीले विमानस्थलमा युवाहरूको लर्को देख्नुपर्ने विवशता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले युवाहरू विदेशिन नपर्ने वातावरण बनाउन र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।