शुक्रवार , आश्विन १६, २०८३
काठमाडौँ, १६ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिसिखा धितालले देशमा भइरहेका श्रृङ्खलावद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको भन्दै राज्यको संवेदनशीलतामाथि प्रश्न गर्नुभएको हो । सांसद धितालले पछिल्लो समयका विभिन्न घटनाक्रमहरूको स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराउनु भयो । बजारमा आउने नयाँ ‘ट्रेन्ड’सँगै न्यायका विषय पनि प्रतिस्थापित हुने गरेको उल्लेख गर्दै उनले नागरिकका पीडामा राज्यले विभेद गर्न नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ । तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ । हामीलाई एक प्रकारले दुःखको लत लागेको छ । जेन–जी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या र रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुम्बासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेका छन् । राज्य अरूको दुःखमा केवल टेको लगाउने होइन, आफैँ पीडितको टेको बन्नुपर्छ । केही दिनको सहानुभूतिमा मात्र सीमित नभई, पीडितको जीवन सामान्य नहुन्जेलसम्म राज्य परिणाममुखी ढङ्गले उनीहरूको साथमा उभिनुपर्छ ।’
उहाँले राज्यको उपस्थिति केवल औपचारिक हुनु नहुने भन्दै पीडितको जीवनमा वास्तविक परिवर्तन ल्याउने गरी कार्यसम्पादन गर्न सरकारसँग माग गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij