२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

घरभाडा दिएपछि होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको छ : प्राधिकरण प्रमुख उप्रेती

सोमवार , आश्विन ५, २०८३

  • 142
    Shares
  • 142
    Shares
  • काठमाडौँ, ५ असोज । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढी प्रभावितहरु होल्डिङ सेन्टरबाट स्थानान्तरण हुँदै गएको बताउनुभएको छ । 

    कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले सरकारले अस्थायी बसोबासको लागी घर भाडा उपलब्ध गराउन थालेपछि होल्डिङ सेन्टर छाड्नेहरुको क्रम बढ्दै गएको बताउनुभएको हो । उहाँकाअनुसार अस्थायी बसोबासको लागि सरकारले मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गरेको छ ।

    विपद्पछि स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरको संख्या अहिले २० मा झरेको उहाँले जानकारी दिनुभयो । उहाँले चार जनासम्मको परिवारलाई १५ हजार र थप सदस्यका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । होल्डिङ सेन्टरमा बस्नेको संख्या उल्लेख्य रुपमा घटेको उहाँले बताउनु भयो । पछिल्लो विवरणअनुसार नुवाकोटमा ३२४, रसुवामा ७८६ र धादिङमा १२१ जना गरी प्रभावितहरू विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् ।

    उहाँले भन्नुभयो, ‘हामीले विपद् भइसकेपछि विभिन्न होल्डिङ सेन्टरमा ३७ वटा होल्डिङ सेन्टरमा प्रभावितहरुलाई राखेका थियौँ । पछिल्लो समयमा होल्डिङ सेन्टरको संख्या घटेर २० मा झरेको छ । त्यो घट्नुको पछाडि सरकारले पीडित परिवारहरुलाई १५ हजार प्रति परिवार मासिक भाडा घरभाडा दिने निर्णय गरे पश्चात उहाँहरु रेन्टलमा जानुभएको हो । चार जना सदस्य सम्मको लागि १५ हजार र एक जना थप हुँदै गएमा थप २ हजारको दरले दिने निर्णय भएको छ । यो संख्या घट्दो छ र अहिले १ हजार ६६१ जना हिजोसम्मको अवस्थामा होल्डिङ सेन्टरमा बसिराखेको अवस्था छ ।  त्यो पनि अहिले घटेर ३२४ नुवाकोटमा, ७८६ रसुवामा र धादिङमा१२१ जना मात्रै रहेको अवस्था छ ।’

    रसुवा बाढीमा परी हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतकमध्ये ३३६ जना महिला, ५८५ जना पुरुष र ५३० जनाको पहिचान डीएनए परीक्षणबाट गरिएको उहाँले बताउनु भयो । मृतकका परिवारका १ हजार ९९७ आफन्तले विभिन्न अस्पतालमार्फत १ हजार २८६ जनाको डीएनए नमुना दिएका छन् । हालसम्म ५ हजार ७८६ जना बेपत्ता रहेको र तीमध्ये ६३६ जना विदेशी नागरिक रहेको उहाँले जानकारी दिनुभयो । उनीहरुको खोज, उद्धार तथा राहतका लागि २० हजार ९२९ सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँका अनुसार रसुवागढी, लाङटाङ र चिलिमेमा खोज तथा उद्धारको काम सकिएको छ भने माथिल्लो त्रिशूली, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ क्षेत्रमा भने खोज तथा उद्धार कार्य जारी छ ।

    माथिल्लो त्रिशूली क्षेत्रमा जालीमा अड्किएका मानव अंगसमेत फेला परेको उहाँले बताउनुभयो ।खोज तथा उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । चीनबाट २४, भारतबाट ५४, दक्षिण कोरियाबाट ३९, यूएईबाट १३, मलेसियाबाट १० र अस्ट्रेलियाबाट २६ जना विज्ञ तथा उद्धारकर्मीले सहयोग गरेको उहाँले बताउनु भयो । अधिकांश विदेशी टोली फर्किसकेको र भारतीय टोली पनि फर्कने क्रममा रहेको उहाँले बताउनु भयो ।

    मृतकको व्यवस्थापनतर्फ १ हजार ४५१ शवमध्ये १ हजार २९२ शव सुरक्षित भण्डारणमा राखिएको छ । १११ शव परिवारलाई हस्तान्तरण गरिएको र बाँकी शवको फरेन्सिक तथा पहिचानसम्बन्धी प्रक्रिया जारी रहेको उहाँले बताउनु भयो । डीएनए परीक्षणका लागि विभिन्न प्रयोगशालामा ३ हजार ६८५ नमुना प्राप्त भएका छन् । नेपाल प्रहरी केन्द्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुसीमा १ हजार ९५७ र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १ हजार ७२८ नमुना परीक्षणका लागि पुगेको उहाँले बताउनु भयो ।

    डीएनए परीक्षणमा सहयोग गर्न भारत, सिंगापुर, दक्षिण कोरिया, अमेरिका र चीनका विज्ञ टोलीसमेत नेपालमा परिचालित छन् । भारतका विज्ञसँगै सिंगापुरका दुई, दक्षिण कोरियाका तीन, अमेरिकाका तीन र चीनका १५ जना विज्ञले नेपाल प्रहरीसँग मिलेर डीएनए परीक्षणमा सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।