२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

भोटेकोशीको बाढी : सुरुङभित्रै मृत्युसँगको संघर्ष र ज्यान जोगाएर फर्केका कुँवरको कथा

शनिवार , भाद्र २७, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • पश्चिम नवलपरासी, २७ भदौ । भोटेकोशी क्षेत्रमा आएको भयानक बाढी र विपद्ले ठूलो जनधनको क्षति पुर्याएको छ । सोही क्षेत्रमा विद्युत् परियोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ निवासी रोहित कुमार कुँवर बाढीको चपेटाबाट सकुशल ज्यान बचाएर फर्कन सफल हुनुभएको छ । कुँवरका अनुसार उहाँले दिएको जानकारीमा आधारित विपद्को त्यो डरलाग्दो क्षण र उद्धारको कथा यस्तो छ ।
    सुरुङभित्रको काम र बाढीको अचानक त्रास

    घटनाका दिन रोहित २ सय १६ मेगावाटको जलविद्युत आयोजनामा इलेक्ट्रीशियनको रूपमा काम गर्न सुरुङभित्र हुनुहुन्थ्यो । सुरुमा बाहिर केही थाहा नभए पनि जब सुरुङभित्र पानी प्रवेश गर्न थाल्यो, तब मात्र खतराको महसुस भयो । त्यसलगत्तै साइरनहरू बज्न थाले र सेफ्टी अफिसरले तत्काल बाहिर निस्कन उर्दी जारी गरे । ‘हामी बाहिर आउँदा त बाढीले सबै बगाइसकेको थियो, क्याम्पहरू सबै लैसिकेको थियो । हामी पनि माथि भाग्न थाल्यौं, माथि भागेरै हाम्रो ज्यान जोगियो, ’रोहितले त्यो कहालीलाग्दो क्षण सम्झिनुभयो ।

    १०–१५ मिनेटको अन्तरालले बचेको ज्यान

    बाढीको सुचना पाउनेबित्तिकै सुरुङभित्रका मजदूरहरू १० देखि १५ मिनेटको छोटो समयसीमाभित्रै सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । उहाँहरू सुरुमा चौरतिर गए पनि त्यहाँ पनि खतरा बढेपछि सुरुङ बाहिर रहेका चिनियाँहरूको क्याम्प, कन्ट्रोल बिल्डिङ र माथिल्लो डाँडातिर पुगेर ज्यान बचाउनुभयो । पानीको सतह लगातार बढिरहेका कारण उहाँहरू रातको समयमा पनि ज्यान बचाउन पटकपटक माथि र तल गरिरहनुपरेको थियो ।

    १११ जनाको जनशक्ति र मानवीय क्षति

    उक्त आयोजनामा मेकानिकल र इलेक्ट्रिकलतर्फ गरेर कुल १११ जना कामदार कार्यरत थिए । सुपरभाइजर र सेफ्टी अफिसरको जानकारी अनुसार, इलेक्ट्रिकलतर्फका सबै मजदुरहरू सुरक्षित रूपमा निस्कन सफल भए पनि मेकानिकलतर्फका १ जना मजदुर भने मिसिङ (बेपत्ता) हुनुभएको छ ।

    तीन दिनको प्रतीक्षा र हेलिकप्टरबाट उद्धार

    घटनास्थलमा लगातारको बाढी र जोखिमका कारण उहाँहरू तीन दिनसम्म सुरुङ र डाँडाकै क्षेत्रमा त्रसित अवस्थमा बस्नुपरेको थियो । परिवारसँग सम्पर्क गर्न चाहँदा नेटवर्कले साथ दिएन । घरका मानिसहरूले सञ्चारमाध्यम वा छोटो समय आएको नेटवर्कमार्फत उहाँ सुरक्षित रहेको खबर पाउनुभए पनि निरन्तर नेटवर्क नहुँदा निकै तनावमा रहेका थिए । घटनाको तीन दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँहरूको सकुशल उद्धार गरिएको हो ।

    कम्पनीको सहयोग र मानसिक असर

    उद्धारपश्चात काठमाडौं आएर एक साताको विश्रामपछि उहाँ आफ्नै घर फर्कनुभएको छ । आयोजनाको सुरुङ तथा भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको भए पनि कम्पनीले सम्पूर्ण कर्मचारीहरूलाई सुरक्षित रूपमा काठमाडौं ल्याएर आवश्यक सेवा–सुविधा उपलब्ध गराएको र मानसिक रूपमा ठिक भएपछि मात्र काममा बोलाउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

    भोटेकोशीको त्यो भयानक बाढी र सुरुङभित्र बिताएका ती सम्झना गर्दा अझै पनि आफूलाई त्यो ठाउँमा कहिल्यै नफर्कौँ जस्तो महसुस हुने रोहितकुमार कुँवर बताउनुहुन्छ ।