शनिवार , भाद्र २७, २०८३
पश्चिम नवलपरासी, २७ भदौ । स्वास्थ्य सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही अनुसार जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखाको कार्यसम्पादन मूल्यांकन गर्दा रामग्रामले पहिलो स्थान हासिल गरेको हो ।
स्वास्थ्य कार्यालयले २९ वटा विभिन्न स्वास्थ्य सूचकलाई आधार बनाएर गरेको मूल्यांकनमा रामग्राम नगरपालिकाले ७८.५३ अंक प्राप्त गर्दै प्रथम स्थान ओगटेको छ । त्यसै गरी ७७.८९ अंकसहित सरावल गाउँपालिका दोस्रो र ७६.९७ अंकसहित प्रतापपुर गाउँपालिका तेस्रो स्थानमा पर्न सफल भएका छन् ।
मूल्यांकनका अन्य चरणहरूमा ७४.४९ अंकसहित बर्दघाट नगरपालिका चौथो, ७४.४० अंकसहित सुस्ता गाउँपालिका पाँचौँ, ७२.६२ अंकसहित सुनवल नगरपालिका छैठौं र ७१.३३ अंकसहित पाल्हीनन्दन गाउँपालिका सातौँ स्थानमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थातर्फ नगरपालिका क्षेत्रबाट बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर स्वास्थ्य चौकी छनोट भएको छ । त्यस्तै गाउँपालिकाहरूकोतर्फबाट प्रतापपुर गाउँपालिका–७ स्थित गुठी सूर्यपुरा स्वास्थ्य चौकी उत्कृष्ट घोषित भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij