२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

सीमा क्षेत्रमा १ करोड १५ लाख बराबरको मोबाइल एसेसरिज बरामद

शुक्रवार , भाद्र २६, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • नवलपरासी पश्चिम, २६ भदौ । लुम्बिनी प्रदेश प्रहरीले सीमा क्षेत्रमा हुने ठूलो परिमाणको तस्करीविरुद्ध कारबाही तीव्र बनाएको छ । यसैक्रममा नवलपरासी पश्चिमको सरावल गाउँपालिका–७ भन्सार टोलबाट करिब १ करोड १५ लाख रुपैयाँ बराबरका मोबाइल एसेसरिजसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट मातहतका प्रहरी युनिटलाई परिचालन गरी गरिएको कारवाहीका क्रममा भारतबाट भन्सार छली ल्याइएका मोबाइल एसेसरिज बरामद गरिएको हो । प्रहरीका अनुसार भदौ २६ गते बिहान करिब ४ः३५ बजे इलाका प्रहरी कार्यालय महेशपुर, प्रहरी चौकी भुजहवा र सशस्त्र प्रहरी बल भुजहवाको संयुक्त टोलीलाई देखेपछि सामान पिकअपमा लोड गरिरहेका व्यक्तिहरू गाडी तथा सामान छाडेर फरार भएका थिए ।

    इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक सुबराज बमको कमाण्डमा पाँचजना, प्रहरी चौकी भुजहवाका प्रहरी वरिष्ठ नायब निरीक्षक निलकण्ठ ढकालको कमाण्डमा दुईजना तथा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा सात जनाको संयुक्त टोली परिचालन गरिएको थियो ।

    प्रहरीले लु ३ च २९३९ नम्बरको पिकअपबाट सेतो एअरपड १ हजार ७५५ पिस, कालो एअरपड ५३९ पिस, कालो मोबाइल ग्लास ३९ हजार ८०० पिस, सेतो मोबाइल ग्लास ४ हजार ५०० पिस, मोबाइल कभर ९३० पिस तथा एक बोरा प्लास्टिक बरामद गरेको छ ।

    बरामद मोबाइल एसेसरिजको अन्दाजी मूल्य ९४ लाख ८४ हजार र पिकअप गाडीको मूल्य रु २० लाख रहेको प्रहरीले जनाएको छ । सामान तथा सवारीसाधनको कुल मूल्य रु १ करोड १४ लाख ८४ हजार बराबर रहेको छ ।

    बरामद सामान तथा पिकअपलाई आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रयोजनार्थ इलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको छ । घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा पहिचान गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले सीमा क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखी मातहतका प्रहरी युनिटलाई परिचालन गरी कारबाही अघि बढाइएको बताउनुभयो । उहाँले सानो परिमाणमा सामान ओसारपसार गर्ने व्यक्तिमा मात्र नभइ ठूलो परिमाणमा तस्करी गर्ने कारोबारी, लगानीकर्ता र त्यसको मूल सञ्जालसम्म पुग्ने गरी प्रहरीको कारवाही केन्द्रित रहेको जानकारी दिनुभयो ।

    प्रदेश प्रहरी कार्यालयबाट परिचालित विशेष प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको घटनालाई पनि प्रदेश प्रहरीले अपराध नियन्त्रण अभियानकै महत्वपूर्ण कारवाहीका रूपमा लिएको छ । उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्वल खड्काले प्रदेश प्रहरी कार्यालयको प्रत्यक्ष निर्देशन तथा मातहतका प्रहरी युनिटको परिचालनमा सीमा अपराध, तस्करी, जुवातास तथा अन्य आपराधिक गतिविधिविरुद्ध नियमित रूपमा कारबाही भइरहेको बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा हुने ठूलो परिमाणको तस्करी नियन्त्रणका लागि सूचना संकलन, निगरानी र संयुक्त परिचालनलाई थप प्रभावकारी बनाइएको छ ।

    स्थानीयका अनुसार पछिल्लो समय लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशका सीमा क्षेत्रमा सुरक्षा निगरानी तथा अपराध नियन्त्रणलाई थप कडाइ गरेको छ । बाँकेको सीमा क्षेत्र, कपिलवस्तु, नवलपरासी पश्चिम र रुपन्देहीका सीमा क्षेत्रमा हुने तस्करी तथा सीमा अपराध नियन्त्रणमा प्रदेश प्रहरी सक्रिय देखिएको स्थानीयको भनाइ छ ।