शुक्रवार , भाद्र २६, २०८३
भैरहवा, २६ भदौ । सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीले बाढीप्रभावितका लागि ५ लाख ५ सय रुपैयाँ सहयोग गर्ने भएको छ ।
उद्धार तथा आवश्यक राहत कार्यमा सहयोग र आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने प्रा.लि.का अध्यक्ष संजीव रोक्काले बताउनुभयो ।
भदौ १० गते अचानक भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाको टिमुरे, स्याफ्रुवेशी, नुवाकोट, धादिङलगायत बाढीप्रभावित क्षेत्रमा भएको ठूलो धनधनको क्षतिप्रति प्रा.लि.ले गहिरो दुःख व्यक्त गरेको छ । प्रा.लि.ले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण जनसमुदायप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
बाढीका कारण यातायात व्यवसायी, चालक, सह–चालक, मजदूर, व्यापारी तथा सर्वसाधारणहरु प्रभावित भएको घटनाले आफूहरुलाई अत्यन्तै दुःखी तथा मर्माहित बनाएको अध्यक्ष रोक्काले बताउनुभयो । ‘यस्तो विषम परिस्थितिमा उद्धार तथा खोजी, राहत कार्यलाई निरन्तर प्रभावकारी बनाउन अहोरात्र लाग्नुभएका सुरक्षा निकायलगायत विज्ञ तथा सहयोगी सबैलाई आभार व्यक्त गर्दै सबै पक्षबाट प्रभावकारी समन्वय गरी राहत तथा उद्धारमा एकजुट भइ आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुहुनका लागि अनुरोध गर्दछौं, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij