२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार प्रभावकारी भएन : काँग्रेस नेता केसी

आइतवार , भाद्र १४, २०८३

  • 148
    Shares
  • 148
    Shares
  • काठमाडौँ, १४ भदौ । नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाउनुभएको छ । 

    पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको बैठकमा बोल्दै नेता केसीले विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको बताउनुभएको हो । पीडितहरूको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी गराउँदै नेता केसीले भैरमकोट, केउरिनी, बुढासिंह घाट र त्रिशूली बजार क्षेत्रका हजारौँ नागरिक विस्थापित भएर विद्यालय तथा कभर्ड हलमा शरण लिइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार त्रिशूली नदी पारिपट्टिका क्षेत्रहरूमा हालसम्म विद्युत सेवा अवरुद्ध छ भने अस्पतालहरूमा जेनेरेटरको अभावमा उपचार सेवा प्रभावित भएको छ ।

    नेता केसीले राहत सामग्री सङ्कलन भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको दाबी गर्नुभयो । उहाँले विगतका भूकम्प र कोभिड महामारीमा जस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न र सुरक्षा निकायलाई उद्धारमा मात्र केन्द्रित गर्न सुझाव दिनुभयो । चिलिमे क्षेत्रको सुरुङमा नुवाकोटका एक इन्जिनियरसहित करिव २ सय जना प्राविधिक तथा कामदारहरू फसिरहेको उल्लेख गर्दै नेता केसीले उद्धारमा ‘युद्धस्तर’ मा काम हुन नसकेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, काठमाडौंबाट पठाइएका राहत सामग्रीहरू आर्मी क्याम्प र सभा हलहरूमा थुप्रिएर बसेका छन्, तर पीडितले म्याट्रेस र ओढ्ने कपडा समेत पाएका छैनन् । चीन सरकारले उद्धारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउँदा पनि सरकारले आवश्यक समन्वय नगर्नु दुःखद् छ । प्रधानमन्त्री गएर फर्किएपछि कुनै ठोस प्रगति देखिएको छैन । सरकार छ भन्ने अनुभूति जनताले गर्न पाएका छैनन् ।’

    प्रधानमन्त्री र गृहमन्त्रीको प्रभावित क्षेत्र भ्रमणलाई लक्षित गर्दै उहाँले उच्चस्तरीय भ्रमण ‘फोटो खिच्न’ मा मात्र सिमित भएको टिप्पणी गर्नुभयो । नेता केसीले विपद्को यो घडीमा पार्टीका नेता–कार्यकर्ताहरूलाई कुनै पनि राजनीतिक प्रचारबाजी वा पहिचानबिना इमानदार भएर मानवीय सेवामा जुट्न आग्रह गर्नुभयो ।