२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

पशुपति सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर

आइतवार , भाद्र १४, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, १४ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूको स्वास्थ्यलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार संस्थाको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

    शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । सहभागीहरूको विभिन्न स्वास्थ्य समस्या पहिचानसँगै महिला रोगसम्बन्धी स्वास्थ्य परीक्षण र आवश्यक परामर्शसमेत दिइएको संस्थाले जनाएको छ ।

    कार्यक्रम संयोजक प्रकाश बन्जाडेले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्ना सदस्यलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले निःशुल्क शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारीको आर्थिक कारोबारसँगै सदस्यहरूको स्वास्थ्य र सामाजिक हितलाई पनि प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

    संस्थाका अध्यक्ष अर्जुन बस्यालले सहकारीले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्यहरूको हितमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सदस्यहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन शिविर प्रभावकारी भएको उहाँको भनाइ थियो ।

    देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटका चिकित्सक तथा प्राविधिकको सहयोगमा सञ्चालन गरिएको शिविरमा संस्थाका सदस्य तथा सेवाग्राहीको सहभागीता रहेको थियो । संस्थाले आगामी दिनमा पनि सदस्य केन्द्रित सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।