२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

चिदिका रुपन्देही सम्पर्क समाजको ११ औं साधारण सभा सम्पन्न

आइतवार , भाद्र १४, २०८३

  • 118
    Shares
  • 118
    Shares
  • बुटवल, १४ भदौ । चिदिका रुपन्देही सम्पर्क समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजको अध्यक्ष गीता ज्ञवालीको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन संस्थापक अध्यक्ष पुरुषोत्तम अर्यालले गर्नुभएको थियो ।

    साधारण सभामा अध्यक्ष गीता ज्ञवाली र कोषाध्यक्ष रामप्रसाद पन्थीले प्रस्तुत गर्नुभएको क्रमशः संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ । सभाले संस्थाका आगामी कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी बनाउँदै सदस्यबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिएको थियो ।

    कार्यक्रमको बोल्दै संस्थापक अध्यक्ष पुरुषोत्तम अर्यालले समाज स्थापनाको उद्देश्यअनुसार सदस्यबीचको सम्बन्ध विस्तारसँगै सामाजिक क्षेत्रमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले संस्थाले स्थापनादेखि हालसम्म हासिल गरेका उपलब्धीलाई संस्थागत गर्दै आगामी दिनमा थप रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    पूर्वअध्यक्ष इश्वरी ज्ञवालीले संस्थाले विगतमा गरेका कामको समीक्षा गर्दै समाजलाई थप व्यवस्थित र सक्रिय बनाउन सबै सदस्यको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाको निरन्तरताका लागि नयाँ पुस्तालाई समेत जोड्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

    निवर्तमान अध्यक्ष केशवराज पन्थीले संस्थालाई यहाँसम्म ल्याउन विगतका नेतृत्व, सदस्य तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै आगामी दिनमा पनि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले संस्थाको गतिविधिलाई अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सभामा सहभागीकातर्फबाट माया अर्याल र रामप्रसाद अर्यालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसै गरी सल्लाहकारद्वय जिवनाथ अर्याल र दीपक ज्ञवाली तथा अतिथिको रुपमा सहभागी मोतिलाल श्रीपालीले समाजको गतिविधि र आगामी कार्यदिशाबारे धारणा राख्नुभएको थियो ।

    समाजका उपाध्यक्ष कमल अर्याल र सचिव हेमनाथ ज्ञवालीले संस्थाको आगामी गतिविधि तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

    साधारण सभाका अवसरमा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागीता थियो ।