आइतवार , भाद्र १४, २०८३
बुटवल, १४ भदौ । रुपन्देहीको बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक संचालन गर्ने भएका छन । कुनै बेला समस्यामा परेका बिरामीहरुको सेवामा अग्रसर युवाहरुको अब भने नेपाल स्वयंसेवी रक्तदाता समाज हुँदै अहिले सहकारीमार्फत ब्लड बैक संचालनको तयारीमा पुगेका हुन् ।
समाजसेवी कृष्ण चौहान क्षेत्रीको अगुवाईमा बुटवलमा रक्तदान अभियान हुँदै पछिल्लो दुई वर्षदेखि स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेड सञ्चालनमा रहेको थियो । सहकारीमार्फत नै अब ब्लड बैक सञ्चालन हुने भएको हो ।
सहकारीको शेयर रकमबाट ब्लड बैक स्थापनामा लगानी गर्ने निर्णय चौथो वार्षिक साधारण सभाबाट भएको अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताउनुभयो । बुटवलका एक अस्पतालसँग सम्झौताको अन्तिम तयारी भैरहेको उहाँले बताउनुभयो । ‘अब छिट्टै ब्लड बैक सञ्चालनको तयारीमा छौं,’अध्यक्ष चौहान क्षेत्रीले भन्नुभयो । बुटवलमा रगत व्यवस्थापनमा सहजता ल्याउने गरी ब्लड बैंक स्थापना गर्न लागेको उहाँले बताउनुभयो ।
यसैबीच संस्थाको साधारण सभाबाट चारवर्षे आवधिक योजना समेत पास भएको छ । त्यसै गरी सदस्य वृद्धि, बैंक तथा वित्तीय संस्थामा सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा बनाएको पहिचान कायम राख्ने गरी अभियानहरु चलाउने समेत योजनाहरु रहेको उहाँले बताउनुभयो । बुटवल कार्यक्षेत्र रहेको सहकारीलाई रुपन्देही जिल्लाभरी कार्यक्षेत्र विस्तार गर्ने समेत तयारीमा रहेको उहाँले बताउनुभयो ।
शनिबार कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालले उद्घाटन गर्दै नबिनतम सोच र योजनाका साथ सहकारी अघि बढेको भन्दै देशमा नै रक्त अभियान चलाउने एकमात्र सहकारी भएको बताउनुभयो ।
त्यसै गरी रसुवासहित देशका विभिन्न जिल्लामा भएको बाढीपहिरो पीडितको सहयोग गर्ने समेत सहकारीका उपाध्यक्ष उदयराज भट्टराईले बताउनुभयो । प्रत्येक शेयर सदस्यको खाताबाट संकलन गरिएको ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
यसैबीच साधारणसभामा सञ्चालक समितिकोतर्फबाट अध्यक्ष कृष्ण चौहान क्षेत्री, लेखा सुपरीवेक्षक समितिकोतर्फबाट शंकर गौतम तथा लेखापरीक्षण प्रतिवेदन र अनुमानित आयव्यय कोषाध्यक्ष प्रशन्न श्रेष्ठले प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो ।
सहकारीमार्फत गोलबद्ध गरि सामाजिक कार्यमा अग्रसर गराउने लक्ष्य अनुसार संस्था अघि बढेको सहकारीको सचिव जानकी नेपाल र सदस्य सागर पाठकले बताउनुभयो । सहकारीमा हाल २९९ जना शेयर सदस्यहरु आबद्ध छन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij