२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

बाढीप्रभावितहरुलाई सहयोग गर्ने नेपाल-चीन मैत्री समाज लुम्बिनीको प्रतिबद्धता

आइतवार , भाद्र १४, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • भैरहवा, १४ भदौ । नेपाल–चीन मैत्री समाज लुम्बिनीले रसुवागढी क्षेत्रमा हालै भएको प्राकृतिक विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    समाजका अध्यक्ष मनिष कुमार जोशीको अध्यक्षतामा बसेको बैठकले विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

    बैठकले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ । विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको छ ।

    मानवीय समवेदनालाई केन्द्रमा राख्दै समाजको सामथ्र्य र उपलब्ध स्रोतअनुसार आर्थिक, नैतिक तथा मानवीय सहयोग उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । आवश्यकतानुसार सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी संस्थाहरूसँग समन्वय गरी राहत तथा सहयोगका कार्यक्रम अघि बढाइने समाजले जनाएको छ।
    त्यसै गरी विपद् प्रभावितहरूको तत्कालीन आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै समाजका सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई समेत स्वेच्छिक रूपमा सहयोग अभियानमा सहभागी हुन आह्वान गर्ने निर्णय गरिएको छ ।

    विपद्को दुःखद् घडीमा पीडित तथा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नेपाल–चीन मैत्री समाज लुम्बिनीले संकटमा परेकाहरूलाई साथ दिनु सामाजिक दायित्व र मानवीय कर्तव्य भएको निष्कर्षसहित सम्भव भएसम्म सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।