२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

विपद्का बेला आवश्यक सहयोगमा जुट्न सिएमए संघको अपील

बिहिवार , भाद्र ११, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, ११ जेठ । नेपाल सिएमए संघ केन्द्रीय कार्यालयले आफ्ना मातहतका सम्पूर्ण निजी तथा सरकारी सदस्यलाई आवश्यक समन्वय गर्दै प्राथमिक उपचार, औषधि उपलब्ध गराउने तथा उद्धार कार्यमा व्यवस्थित रूपमा सहयोग गर्न आह्वान गरेको हो ।

    नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा दर्ता भएका निजी तथा सरकारी स्वास्थ्य प्राविधिकहरूलाई विपद्का बेला आवश्यक सहयोगमा जुट्न अपील गरिएको छ ।

    संघले विपद्का घटना हुँदा स्वास्थ्य सेवा तत्काल आवश्यक पर्ने भएकाले स्वास्थ्य प्राविधिकहरूले आफ्नो सीप र अनुभवलाई मानवीय सेवामा उपयोग गर्नुपर्ने जनाएको छ । विशेष गरी ग्रामीण क्षेत्रमा चिकित्सकका रूपमा परिचित सिएमए स्वास्थ्यकर्मीहरू विपद्का समयमा प्राथमिक उपचार तथा उद्धारका कार्यमा स्वयंसेवकका रूपमा खटिँदै आएका छन् ।

    संघका कार्यवहाक महासचिव ईश्वरप्रसाद चपाईले विगतमा पनि बाढी, पहिरो, आगलागी, दुर्घटना लगायतका विपद्का घटनामा सिएमए स्वास्थ्यकर्मीहरूले घाइते तथा प्रभावितलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउँदै आएको बताउनुभयो । स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने क्षमता भएका स्वास्थ्यकर्मीको परिचालनले विपद्का समयमा उपचार सेवामा सहजता पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    संघले विपद्का बेला सम्बन्धित निकायसँग समन्वय गरी स्वास्थ्य सामग्री तथा औषधिको व्यवस्थापन, प्राथमिक उपचार र आवश्यक उद्धारमा सक्रिय सहभागिता जनाउन आफ्ना सदस्यलाई आग्रह गरेको केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो । विपद् प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको सुरक्षित र व्यवस्थित परिचालनलाई प्राथमिकता दिनसमेत संघले जोड दिएको छ ।

    मानवीय सेवामा सिएमए स्वास्थ्यकर्मीको भूमिकालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने संघले जनाएको छ ।