२०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बुधवार , भाद्र १०, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • दाङ, १० भदौ । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २ सय ६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो । 

    मन्त्रालयकातर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नविन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौताअनुसार लुम्बिनी प्रदेशमा क्रियाशील १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पत्रकारहरुको सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो ।

    पत्रकारिता पेशामा समाचार संकलन, स्थलगत रिपोर्टिङ तथा विपद्, दुर्घटना र जोखिमयुक्त क्षेत्रमा पुगेर काम गर्नुपर्ने भएकाले सम्भावित दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । बीमाले पत्रकारलाई पेशागत कार्यका क्रममा हुन सक्ने दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

    सम्झौताअनुसार बीमित पत्रकारले दुर्घटनाबाट क्षति व्यहोरेको अवस्थामा तोकिएको बीमा रकम तथा प्रचलित बीमा व्यवस्थाअनुसारको सुविधा प्राप्त गर्नेछन् ।

    प्रदेश सरकारले पत्रकारको पेशागत सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।