२०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

पर्यटन क्षेत्रका समस्या समाधान गर्न सर्वपक्षीय छलफलको तयारी

बुधवार , भाद्र १०, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, १० भदौ । रुपन्देहीको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सर्वपक्षीय छलफलको तयारी गरिएको छ । पर्यटनको केन्द्र बनिरहेको जिल्लामा आउने पर्यटकको सुरक्षा, सुविधा र सेवालाई सर्वसुलभ र मर्यादित तुल्याउन यस्तो छलफल आयोजना गर्न लागिएको हो । 

    लुम्बिनी होटल संघ, नेपालले मंगलबार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई भेटेर पछिल्लो समय रुपन्देहीमा रात्रीकालीन पर्यटन सेवा प्रभावित भएको, स्पा व्यवस्थित गर्नुपर्नेमा छापा मारेर पर्यटक आतंकित तुल्याइएको र भारतबाट पर्यटक बोकेर आउने गाडीको प्रमिट सीमित हुँदा मर्का परेको जानकारी गराएको थियो । 

    संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा सल्लाहकार, पदाधिकारी र सदस्यको टोलीले पर्यटन क्षेत्रले भोग्नुपरेका समस्या अवगत गराएको थियो । मुलुकको मध्य भागमा रहेको र पर्यटकीय सहरका रुपमा विकास भइरहेको जिल्लामा होटल तथा रेष्टुरेण्टले २४ सैं घण्टा सेवा दिन पाउनु पर्ने व्यवसायीको माग छ । 

    ’पर्यटन क्षेत्रलाई उकास्न पनि रात्रीकालीन बजार सञ्चालन गरिनुपर्छ,’संघका अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘स्पा व्यवस्थित गर्नुपर्नेमा आतंकित तुल्याइयो ।’  रुपन्देही लगायत जिल्लामा पर्यटनको भर भारतीय पर्यटक भएकाले उनीहरूलाई आउने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो । अहिले जिल्ला प्रशासनबाट स्वीकृति लिएर २४ सैं घण्टा व्यवसाय सञ्चालन भइरहेको जनाउँदै त्यसमा रोक लगाउन नहुने उहाँले बताउनुभयो । प्रशासनले जिल्लामा अहिले मध्यरातसम्म मात्र व्यवसाय सञ्चालन गर्न दिइरहेको छ । 

    ‘यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ प्रशासनले पहल गरिदिनुपर्याे,’उहाँले भन्नुभयो–‘व्यवस्थापनका लागि सघाउन हामी तयार छौं । केही दिन अघि बुटवलका स्पामा प्रहरीले छापा मार्दा व्यवसायी र पर्यटक आतंकित भएको र छिमेकी मुलुक भारतमा नकारात्मक असर परेको उहाँले बताउनुभयो ।

    संघका सल्लाहकार गोपाल रानाले विधिवत रुपमा दर्ता भएर सञ्चालनमा आएका व्यवसाय बन्द र तिनमा सीमा निर्धारण गर्दा त्यसले झन असुरक्षाको वातावरण बनाउने बताउनुभयो । ‘कमीकमजोरी सच्याउन व्यवसायी तयार छन,’उहाँले भन्नुभयो–‘प्रशासनले पनि रोक वा बन्देज लगाउने भन्दा सहजीकरण गरिदिनुपर्छ ।’ 

    संघका महासचिव टेकनाथ बस्यालले प्रत्येक वर्ष नवीकरण गरेका, प्रशासनले मापदण्ड निरीक्षण गरेर अनुमति दिएका व्यवसायले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले स्पाले मापदण्ड पालना नगरेको गुनासो आएपछि प्रहरीले छापा मारेको जनाउँदै स्पा व्यवस्थित गर्न सम्बन्धित पालिकालाई अनुरोध गरिएको बताउनुभयो । त्यसबाहेक रात्रीकालीन बजारका पक्षमा प्रशासन पनि रहेकाले कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गरिने बताउनुभयो । 

    WhatsApp Image 2026-08-26 at 3.58.57 PM (1).jpeg

    प्रमुख जिल्ला अधिकारी र संघबीच रुपन्देहीमा देखिएका पर्यटनका समस्यालाई लिएर छिट्टै सर्वपक्षीय छलफल गर्ने सहमति भएको छ । त्यसमा सम्बन्धित पालिका, प्रशासन र सरोकारवाला पर्यटनकर्मीको सहभागीता रहनेछ ।