बुधवार , भाद्र १०, २०८३
शनिबार, बुटवलको श्रीनगर फोटो स्टुडियोमा सल्लाह भएबमोजिम बिहानै सात बजे बुटवल छाड्ने र पाल्पा तिनाउको कोल्डाँडा जाने कुरोले आइतबार सार्थकता पायो । बुटवलको गोलपार्क, सिद्धबाबा, दोभान, झुम्सा, पानीमिल, सिसुवा, चौबीसमाईल, केराबारी, जोरधारा हुँदै नयाँ जोरधारामा पुग्दा बिहानको आठ बज्नै आँटेको थियो । अमित रेष्टूरेण्टमा खाजा खान बस्यौं । पूर्णबहादुर खाम्चा मगरका राइँलो छोरो बीरबहादुरले आफ्नो छोरोको नाममा सञ्चालन गरेका उक्त रेष्टूरेण्टमा फिल्म निर्देशक मनीष पन्थ, वकील कृष्ण गाउँले आर्टिष्ट बेनुप्रसाद थापा र मैले चिया, चना र प्याजको पकौडी खायौं । मनीषले ३ सय ३० रुप्पे खाजामा खर्चिए । हुन त बेनुले पैसा तिर्न खल्ती नछामेका भने होइनन् ।
गणेशको घरमा आसनग्रहण.........।
पाल्पा, तिनाउको नयाँ जोरधारामा पकौडी, चिया, बटुक, सेलरोटीको खाजा खान पाइन्छ । नयाँ जोरधाराले खाजाका लागि मार्केट लिइसकेको छ । रेष्टूरेण्ट सञ्चालक बीरबहादुर र उनकी श्रीमतीसँग पूर्णबहादुर बाजेको रेफ्रेन्स लिएर बोल्यौं । उनीहरुले बाजेको रियल स्टोरी हेरेका रहेछन् । खुबै मन परेको कुरा पनि सुनाए । उनीहरुले आफ्ना सन्तान सबैले उक्त स्टोरी आफ्नो फेसबुक वालमा सेयर गरेको कुरा पनि सुनाए । उता कोल्डाँडाबाट गणेश रास्कोटीले फोन गरिरहेका थिए । उनकै घरमा खाना खाने कुरो भएको थियो अघिल्लो दिनै । सायद हामी आउने, नआउने क्लियरेन्स खोजेको होलान् उनले लाग्यो । मैले नास्ता खाएर आउने सन्देश मोबाईलमार्फत् जानकारी गराएँ ।
सिद्धार्थ लोकमार्गको बुटवल–तानसेन खण्डमा पर्ने चर्चरेबाट थोरै अघि पुगेर दाहिनेतिर ग्राभेल बाटो मोडियौं ओरालो । अनि दोभानखोला पुल तरेपछि सुतिखोला लघु–जलविद्युत भवननिर पुगेर दाहिनेतिर कच्चीबाटो माथितिर उक्लियौं । करिब आधाघण्टा कच्ची, कतै ग्राभेल, कतै आरसीसी ढलाई, कतै रातोमाटोमा चिप्लिदै कन्याडी गाउँ पुग्यौं । हामीलाई गणेश रास्कोटीले कुरेर बसेका रहेछन् । फराकिलो आँगन, चिटिक्कको बार्दलीसहितको उनको घरमा पुगेपछि पानी पियौं । कुर्चीमा आसनग्रहण गर्यौं । हामी पुग्दा उनकी आमाले घरको छतमा नाम्लो बुन्दैथिइन् । गणेश जीको अनुरोधमा खाना खाने तरखर गर्यौं । घरभित्र दछ्याइएका गुन्द्रीमा पाहुना बनेर चाकलमाँडेर बस्यौं । गणेश र उनकी श्रीमतीले हाम्रा लागि खानाको व्यवस्थापन गरे ।
मीठो तरकारी, गाउँले काँक्रा, स्वादिलो अचारसहितको खानाले सुगरपीडित मलाई भात थप्ने मेसो मिल्यो । अरु साथीहरुले भात थप्ने आँटै गरेनन् । कृष्ण गाउँले नौली दुलहीजस्तै लजाए । मनीषले मसुरोको दाल बटुकाबाट सुरुप्पै पारे । बेनुले काँक्रालाई धूलोपीठो पारे । साथीहरु गाउँको मीठो अग्र्यानिक खानाले मस्त भए । मख्ख परे । मीठो कति थियो बयान गरी साध्य छैन । गणेश र उनकी श्रीमतीको स्वागतसहितको खानाले हामी औधी खुसी भयौं । हात मीठो हो कि भात ! छुट्याउनै सकस भो हामीलाई ।
हाम्रो धन्यवाद् उनको धनियाँपात ................।
खानापछि गणेशसँग कार्यक्रम घुम्दैफिर्दैको रेकर्डिङ्गमा लाग्यौं । धनियाँ र खुर्सानी बारी हेरियो । यतिबेला बुटवल बजारमा कोल्डाँडाको धनियाँपात किलोको तीनसय पचासमा बिक्दोरहेछ । खुर्सानी त ख्यात्तै घटेर ३० रुप्पे किलो रे ! यी सबै कुरा गणेशले सुनाए । बाख्रासँगै महारा जाने तयारीमा थिइन् गणेशकी श्रीमती । हामीले खाना र कार्यक्रमका लागि धन्यवाद् दियौं उनले हामीलाई आफ्नै उत्पादन धनियाँपात दिए ।
गापडाँडामा रहेको आले कृषि तथा पशुपंक्षी फर्म पुग्दा मध्यान्हको १२ बज्दैथियो । चन्द्रकुमारी आले र हुमबहादुर आले श्रीमान–श्रीमती हैछन् । दुवैजना खोर तथा गोठतिरै भेटिए । चन्द्रकुमारीले बाख्राको बयान थालिन् । मनीषले क्यामेराले भिडियो खिच्न थाले, म भने उनीसँग कुरा गर्न तम्सिएँ ।
करिब ४० वटा जमुनापारि र काँठे बाख्रा रहेछन् उनीसँग । दुईवटा कार्तिकमा ब्याउने भैंसी रहेछन् अनि एउटा पाडो पनि । बाख्रापालन, यसका समस्या, चुनौती र यसबाट आएको आम्दानीले गरेका उन्नति र प्रगतिका बारेमा खुलेर ब्याख्या गरिन् उनले । खोर र गोठ भएको ठाउँमा बिजुली नभएको कुराले मनै अमिलो बनायो । वडाध्यक्ष इन्द्रा चिदीको पहल भए पनि बिजुली नआउँदा मनै अँध्यारो भएको कुरा सुनाइन् । बाख्रा र भैंसी ब्याउँदा उज्यालो नहुँदा सकस भएको खुलेर बताइन् ।
चन्द्रकुमारी दिदीले बोका खसी बेचेर मनग्यै पैसा कमाइने बताइन् । महंगो भएकोले बाख्राको वीमा नगरेको सुनाइन् । कमाएको पैसाले बोलेरो जीप किनेरको मधेशमा जग्गा जोडेको कुरा सुनिरहँदा मनै हरक्कै भो मेरो त । ‘यत्रो कमाइ हुँदो रहेछ’ भनेर बेनुले जिभ्रो टोके । कृष्ण गाउँले झन दंग परे । गणेशले ‘दिदीभेनाको आम्दानी रहर लाग्दो छ’ भनेर तारिफ गरे । गाउँमा बसेर बाख्रा, भैसीबाट राम्रै आम्दानी हुने कुराले स्वदेशमा केही छैन भन्नेहरुलाई गतिलो सन्देश हुन सक्ला ।
भेनाका कुरै रमाइला ...........................।
हिंड्नेबेला हुमबहादुर आले भेनाले आफ्नै बारीको रैथाने काँक्रा नूनखुर्सानी र धनियाँको चट्नीसँग चखाए । बसौं एकैछिन भाले काट्छु भने । रम पनि चखाउँछु भन्न भ्याए । भेनाको कुराले रमाइलो गरायो एकछिन वातावरण । दिदीभेनाको हार्दिकता, मिठास बोली र रहरलाग्दो व्यवहारले ग्रामीण जनजीवन पुनः सम्झियौं । घर टाढा भएपनि नजिकको सम्बन्ध हुँदोरहेछ भन्ने कुरा प्रमाणित भो । साथीहरुले दिदीभेनाको धनियाँ बारी हेरे । पानी रिचार्ज पोखरी भेटे । गणेश र मैले गाउँमा आम्दानीका बाटा केके छन् भनेर कुुराकानी गयौं । दालचिनीबाट गाउँलेहरुले घरखर्च चलाएको कुरा सुन्दा खुसी लाग्यो ।
गाउँको माथि डाँडामा कोल्डाँडा मगर संग्रहालय निर्माण भइ उद्घाटन समेत भएको रहेछ । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगरले २०८३ जेठ ३० गते गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसँगै गाउँलेहरुको सार्थक सहभागीतामा उद्घाटन सम्पन्न गरेका रहेछन् । संग्रहालयभित्र मगरजातिका पुराना प्रयोगीबस्तुहरु खोजबीन गरेर राखिएका रहेछन् । हेर्ने मौका मिल्यो । हामीलाई बुद्ध विकास माविका प्रअ विष्णु दर्जीले अवलोकन गराए । उनीप्रति हामी आभारी भयौं । करिब ७ रोपनी जग्गामा पर्खाल लगाइए पनि नवनिर्मित संग्रहालय अघितिर पर्खाल र गेट नबनेको कारण कति सुरक्षित रहला शंका लाग्यो । प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्मित उक्त संग्रहालय परिसरमा मगरसंस्कृति भवन, कार्यालय सञ्चालन सचिवालय भवन र चर्पी बन्ने डीपीआर रहेता पनि यतिबेला संग्रहालय टिक्लिक्कै छ । कसले गर्ला रक्षा ? कसले जोगाउला सिंगो भवन ? चिन्ताको भारी बोकेर हामी ओरालो लागियो ।
चुत्रोको रक्सी ........................।
टुनीको मौरीघार बनाउने उद्योग हेरेर पसलमा आएर पोलेको मकै खायौं । बेनुले साहुनीसँग चुत्राको रक्सी एकमाना खरिद गरे । उक्त जिनिस पाहुना आउँदा टकार्न उपयुक्त होला भनेर झोलामा घुसारे । साथीहरुले मङ्गै बसाउने टिम्बुरको दाना समेत झोलामा राख्न बिर्सिएनन् ।
हामीले वडाध्यक्ष इन्द्राकुमारी चिदी, यमबहादुर चिदीसँग भेट्न इच्छा राखे पनि उनीहरुको समयाभावले भेट्न सम्भव भएन । बिस्नुडाँडामा ९४ वर्षीय नन्दलाल र उनका छोरा चुरे विकसँग भेटेर कुराकानी गरियो । तिनाउ गापाकी कार्यपालिका सदस्य कुमारी विक वनजंगलतिर भएको कारण भेट्ने अवसर जुरेन । घुँघँुराछापमा स्थानीय शिक्षक फोनिसरा घर्तीसँग भेट्ने मौका मिल्यो ।
साँझको ६ः३० तिर हामी सुतीखोला नजिकै रहेको तिनाउ गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा ओरालियौं । दोभान खोला पुलबाट कन्याडीतिर गणेश लागे हामी चारजना चर्चरेडाँडातिर उक्लिएर नयाँ जोरधारा प्रमिला रास्कोटीकहाँ बटुक, चिया, पकौडीले पेट सेक्यौं । यसपालि भने खाजाको २ सय ३० रुप्पे बेनुले हतारमा तिरे । बुटवल आइपुग्दा पौने आठ बज्दैथियो । कृष्ण र बेनु घरतिर लागे । म र मनीष श्रीनगर अनलाइनको अफिसमा घुम्दैफिर्दै कार्यक्रमको इडिटिङतिर धस्सियौं । रातको १० वजे मभने घरतिर लागें ।
रमाइलो, मनमोहक कोल्डाँडा, बिस्कुनडाँडाको यात्राले हामीलाई खुबै उत्साह दियो । गाउँलेहरुसँग भेटघाट गरी कुराकानी गर्ने अवसर जुरायो । गाउँको मोहप्र्रति जागरुक हुने मौका मिल्यो । गाउँका बाटाहरु हेर्ने, हिंड्ने समय जुर्यो । उनीहरुका भोगाइको साक्षी बन्ने समय जुट्यो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij