२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत

मंगलवार , भाद्र ९, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौँ, ९ भदौ । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भुमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताउनुभएको छ । 

    नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पूँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै उहाँले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपातले यसको महत्वलाई प्रष्ट पारेको उल्लेख गर्नुभयो । घिमिरेकाअनुसार हाल नेपालको कुल जीडीपी ६० खर्ब रुपैयाँ रहेको छ भने शेयर बजारको पुँजीकरण करिव ४६ खर्ब रुपैयाँ पुगेको छ । यस तथ्याङ्कले नेपालको अर्थतन्त्रको ७७ प्रतिशत हिस्सा पुँजी बजारले ओगटेको देखाउँछ ।

    पुँजी बजारले अर्थतन्त्रलाई आवश्यक पर्ने दीर्घकालीन पुँजी उपलब्ध गराउनुका साथै सर्वसाधारणलाई कम्पनीको स्वामित्व प्रदान गरी ‘आर्थिक लोकतन्त्र’ को प्रत्याभुति गराएको उहाँको तर्क छ । बजार पुँजीकरणको संरचनाबारे चर्चा गर्दै घिमिरेले कुल बजारमा बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा ५१ प्रतिशत रहेको जानकारी दिनुभयो । त्यस्तै, जलविद्युत क्षेत्रले १६ प्रतिशत र अन्य क्षेत्रले ३३ प्रतिशत हिस्सा ओगटेका छन् । विशेषगरी ऊर्जा क्षेत्रमा प्राप्त सफलताको श्रेय पुँजी बजारलाई जाने उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘कुनै समय हामी १८ घण्टासम्मको लोडसेडिङमा बस्न बाध्य थियौँ तर आज नेपालले ४ हजार मेगावाट विद्युत उत्पादन गर्दै ६०० मेगावाट निर्यात गर्ने अवस्थामा पुगेको छ । यो परिवर्तन निजी क्षेत्रका कारण सम्भव भएको हो र निजी क्षेत्रको कुल उत्पादनमा ८५ प्रतिशत हिस्सा छ । पुँजी बजारले नै सर्वसाधारणको लगानीलाई राष्ट्रिय पूर्वाधार निर्माणसँग जोड्ने काम गरेको छ ।’
    पुँजी बजार रोजगारी सिर्जना र राज्यको राजश्व संकलनको समेत मुख्य स्रोत बनेको उहाँले उल्लेख गर्नुभयो ।

    गत आर्थिक वर्षको तथ्याङ्क प्रश्तुत गर्दै घिमिरेले पुँजी बजारबाट राज्यले मासिक औसत १ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको जानकारी दिनुभयो । यो रकम मुलुकको कुल राजश्वको करिव १.५ प्रतिशत हुन आउँछ । पुँजी बजारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँलाई रोजगारी दिनुका साथै अर्बौंको कर बुझाएर देशलाई समृद्ध बनाउन मद्दत पु¥याइरहेको भन्दै उहाँले यसलाई विकास र पूर्वाधारको मुख्य आधार मान्नुपर्नेमा जोड दिनुभयो ।