२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

लुम्बिनी प्रदेश : साउनमा सबैभन्दा बढी सवारी दुर्घटना रुपन्देहीमा

मंगलवार , भाद्र ९, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, ९ भदौ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत साउन महिनामा ४१८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३५ जनाले ज्यान गुमाएका छन् भने ७११ जना घाइते भएका छन् ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रवक्ता (सूचना अधिकारी) तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार मुत्यु हुनेमा २८ पुरुष र ७ जना महिला रहेका छन् । 

    लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये साउनमा सबैभन्दा बढी सवारी दुर्घटना रुपन्देहीमा भएको छ । डीएसपी बुढथापाका अनुसार साउनमा रुपन्देहीमा १४९ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै बाँकेमा ८४, कपिलवस्तुमा ७१, नवलपरासीमा ३५, दाङमा २४, बर्दियामा १६, पाल्पामा १५, रोल्पामा १०, प्युठानमा ६, गुल्मी र अर्घाखाँचीमा ४/४ वटा दुर्घटना भएका छन् । रुकुम (पुर्व)मा भने सवारी दुर्घटनाको संख्या शुन्य छ ।

    साउनमा ट्राफिक नियम उल्लंघन गर्ने १० हजार ४ सय ५७ वटा सवारीसाधनमाथि कारवाही गरिएको र जसबाट १ करोड ३२ लाख ६९ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको कार्यालयले जनाएको छ ।

    Butwal traffic.jpg

    यो अवधिमा १ हजार १ सय ७१ वटा ट्राफिक सचेतना कार्यक्रम गरिएको र ६३ हजार १ सय १० जना लाभान्वित भएको डीएसपी बुढथापाले जानकारी दिनुभयो ।

    सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति, मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउनु, चालकको लापरवाही, अनावश्यक ओभरटेक, हतारमा बाटो काट्नु, छाडा चौपाया (जनावर) रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीले जनाएको छ ।