images

सोमवार, बैशाख २४ गते २०८१

‘कोरोनालाई सामान्य रुपमा नलिऔं’

‘कोरोनालाई सामान्य रुपमा नलिऔं’

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • ‘कोरोनालाई सामान्य रुपमा नलिऔं’

    २०७८ वैशाख महिनामा ४० वर्षिय एक पुरुष कोरोना संक्रमित हुनुभयो । संक्रमित भएपछि उहाँलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (भैरहवा) लगियो । म उहाँको सम्पर्कमा भएकोले निश्चय नै सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा पर्ने नै भए । बिरामीको उपचारको अवस्था बुझ्न म ३–४ दिन युसीएमएसमा पुगेको थियो । त्यसपछिको केही दिनपछि मलाई ज्वरो आयो । ज्वरोबाहेक घांटी र मेरुदण्ड अलिअलि दुख्न थाल्यो । ज्वरो आउनेबित्तिकै कोरोना संक्रमित भइयो भन्ने मनमा खुल्दुली हुन लाग्यो र खुल्दुली हुनु पनि स्वभाविक पनि हो जस्ता लाग्छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर सुरु भइसकेपछि संक्रमितको संख्या बढ्दै जाँदा आफू पनि संक्रमित भइयो भन्ने कुरा मनमा खेल्न लाग्यो । म एउटा स्वास्थ्यकर्मी । स्वास्थ्यकर्मी बिरामीको नजिक पर्नुपर्ने र उपचार गर्नुपर्ने हुन्छ । यो हाम्रो धर्म, कर्तव्य र दायित्व हो भन्ने कुरामा दुईमत छैन् । मलाई ज्वरो आउन सुरु भएपछि म घरमै बसे । पेशालाई केही समय थांती राखे । तर केही दिन लगातारसम्म ज्वरो आइरहेपछि कोरोना संक्रमण पुष्टि गर्न पीसीआर परीक्षण गराउने निर्णयमा म पुगे ।

    images
    images
    images

    ‘वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ’ भनेझै कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि संक्रमित भएको भन्ने कुरामा मनमा निरन्तर खेलिरह्यो । पीसीआर परीक्षणको लागि ल्याबमा स्वाब दिइसकेपछि केही दिनमा रिपोर्ट आयो । रिपोर्ट पोजिटिभ आयो, अर्थात कोरोना भाइरस संक्रमणको पुष्टि भयो । मनमा खेलेको कुरा र शंका सत्यतामा परिणत भयो । रिपोर्ट आउनु अघि नै मलाई संक्रमण भइसकेको कुरामा पनि म निर्धक्क थिए । रिपोर्ट आएपछि म केही समय आत्तिए । आत्तिनुहुँदैन भन्ने कुरा मलाई पनि राम्रोसंग थाहा छ । किनभने कोही साथीभाई, इष्टमित्र, छरछिमेक संक्रमित भइहाले आत्तिनुहुँदैन भन्ने कुरा मैले सम्झाउने गरेको थिए । तर किन आत्तिए यसको जवाफ मसंग पनि छैन् । तर रिपोर्ट पोजिटिभ आएपछि मानसिक रुपमा आत्तिने काम गर्नुहुँदैन अर्थात ‘मेन्टली फिट’ हुनुपर्छ । रिपोर्ट आएको पहिलो दिनमा छाती भारी भए जस्तो अनुभुति भयो । सास फेर्न अफ्ठयारो भए जस्तो अनुभुति भयो । तर वास्तविक रुपमा भने त्यस्तो थिएन । केवल मनको सोचाइ हो यो । अक्सिजन लेभल ९८/९९ थियोे । रिपोर्ट आइसकेपछि मैले हास्य टेलिश्रृंखला (कमेडी सिरियल) हेरे पनि मलाई हासो नलाग्ने परिस्थिति उत्पन्न भयो । 
    ज्वरोबाहेक रुघाखोकी तथा स्वासप्रस्वासको समस्या नभएकोले म घरमै (होम आइसोलेशन) मा बस्ने सोच बनाए । घरमा बुवाआमा पनि संगै हुनुभएकोले उहाँहरुलाई अर्को स्थानमा बस्न आग्रह गरे र उहाँहरु अर्को घरमा गएर बस्नुभयो । आमाबुवा अर्को घरमा बस्न थालेपछि मसंग भने कोरोना संक्रमित नभएका एक जना मेरो मित्र मंसगै बस्नुभयो । जबकी उहाँ कोरोना संक्रमति हुनुभएको थिएन् । उहाँको आंट र हिम्मतलाई सलाम गर्न चाहन्छु । २८ वर्षिय मित्रले मलाई माया गर्नुभयो । यस्तो हिम्मत जो कोहीमा हुँदैन । आपतविपत र संकटमा साथीको धेरै महत्व हुँदो रहेछ । होम आइसोलेशनमा बस्दा मैले आफूलाई व्यस्त नै राखे । किनभने फुर्सदिलो भइयो भने मनमा अनेक कुरा खेल्छन् । मैले समाचारहरु पढे । युट्युबमार्फत सन्देशमुलक भिडियोहरु हेरे । साथै अनलाइन लुडो पनि खेले । योगा पनि गरे । कोरोना भएपछि लाज मान्ने प्रवृत्ति छ । यो ठीक होइन । संक्रमित हुनु पाप गरेको होइन । यो त एउटा भाइरस हो । जसलाई पनि हुन सक्छ । धनी गरीब पुरुष महिला कोरोना भाइरसले चिन्दैन । त्यसलै लाज मान्नुपर्ने कुनै पनि कारण छैन् । 

    होम आइसोलेशनमा करिब २० दिन होम आइसोलेशनमा बस्दा संक्रमणबाट मुक्त हुन घरेलु उपचार विधि अपनाए । बाफ लिइरहे, तातो पानी, सुप, अण्डा खाइरहे । औषधीको रुपमा भिटामिन सी जिंक र एजिथ्रोमाइसिन ट्याब्लेट (पाँच दिन) खाए । रुघा नलागे पनि रुघा जस्तो लागेर आयूर्वेदिक औषधी अर्कबुटीको प्रयोग गरे । यो प्रयोग गरेपछि रुघा सञ्चो भयो । संक्रमित भइसकेपछि वा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि हेलचेक्रयाई गर्नुहुँदैन । त्यस्तै स्वयं चिकित्सक (डाक्टर) बन्नुहुँँदैन । चिकित्सकसंग निरन्तर परामर्श लिइरहनुपर्छ । चिकित्सकको सल्लाह बिना जथाभावी औषधी विशेष गरी एन्टीबायोटिकको प्रयोग गर्नुहुँदैन । संक्रमित भएको ९ दिनमै रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमणबाट मुक्त भए । तैपनि अझ एक हप्ता बढी म होम आइसोलेशनमै बसे । यसले साइड इफेक्ट गर्न सक्छ र संक्रमितको स्वास्थ्य अवस्था झन बिग्रन सक्छ । संक्रमित भइसकेपछि छातीको एक्स–रे, रगत परीक्षण गराउनुपर्छ । संक्रमित भइसकेपछि आफै टाढा बस्नुपर्छ । तर कोरोना संक्रमित बिरामीलाई फरक दृष्टिकोणले हेर्नु गलत हो । यसले संक्रमितको मनोबल घटाउँछ । संक्रमितको मनोबल बढाउनु आवश्यक हुन्छ । मनोबल कमजोर भएर आत्महत्या गरेकासम्मको उदाहरण हामीसंग छन् । संक्रमितले व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ । आफूले प्रयोग गरेको लुगा, तन्ना धुनुपर्छ । कोरोनालाई सामान्य रुपमा नलिन म सबैलाई आग्रह गर्न चाहन्छु ।

    कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा (लकडाउन) मात्र उपाय होइन् । शहरका सडकहरु खाली छन् । तर गाउँगाउँमा विवाह, भोजभतेर चलिरहेकै छन् । सडक, बजार र पसल मात्र बन्द गरेर समस्याको समाधान हुँदैन जस्तो लाग्छ । मुख्य कुरा सचेतना फैलाउनु हो । जबसम्म नागरिक आफै सचेत हुँदैनन तबसम्म जति नै निशेषाज्ञा र लकडाउन गरे पनि यो समस्या समाधान हुँदैन जस्तो लाग्छ । केही मात्रामा संक्रमणको दर घटे पनि अपेक्षित रुपमा भने घट्न सकेको छैन् । गाउँघरमा भिडभाड छ । यसले थप जोखिम बढेको छ । कडाइ गरेर मात्र हुँदैन । निषेधाज्ञा सदरमुकाम केन्द्रीत जस्तो पनि देखिन्छ । किनभने सदरमुकामबाट बाहिर गएपछि निषेधाज्ञाको प्रभाव सदरमुकाममा जस्तो देखिदैन । कतिपय मानिसले निषेधाज्ञालाई बन्द र हड्तालको रुपमा लिने गरेको पाइन्छ । दिनभरी घर बसेर बेलुकी ५ बजेपछि घरबाट बाहिर हिड्डुल गर्न निस्किएको पाइन्छ ।

    ‘नमरी स्वर्ग देखिदैन’ भनेझै कोरोना संक्रमित नभएसम्म पीडा थाहा हुँदैन । अहिलेको अवस्थामा अस्पतालहरुको संख्या कम छ । भएका अस्पतालमा पनि बेड, अक्सिजन र दक्ष जनशक्तिको अभाव छ । मन्दिर, मस्जिद, चर्च, गुम्बामा धेरै धनराशी खर्च हुन्छ । धार्मिक आस्था र संस्कार अनुुसार यो पनि राम्रो कुरा हो । तर धार्मिकस्थल बनाउन जोड दिए जस्तै अस्पताल निर्माणमा हामीले जोड दिन सकेनौं । महामारीबाट पाठ सिकौं । स्वास्थ्य नै धन हो । त्यसैले अस्पताल बनाउन जोड दिनुपर्छ । नेपालमै उत्पादन भएका स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति विदेशमा छन् । भएका सीमित जनशक्तिले धेरै बिरामीहरुको उपचार गर्नुपर्ने बाध्यता छ । मेडिकल शिक्षा महंगो छ । पीसीआर शुल्क पनि घटाउनुपर्छ । कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्छ । कोरोना अस्पतालको संख्या बढाउनुपर्छ । अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्नुपर्छ ।

    कोरोना संक्रमणको मृत्युदर बढेसंगै पैसा मात्रै सबै थोक होइन भन्ने कुरा प्रमाणित भए जस्तो लाग्छ । किनभने धनी गरीब भन्ने कुरा भाइरसले चिनेन । करौडौंको सवारीसाधन चढ्ने, अरबौ रुपैयाँ बैंक खातामा भएका र ठूला महलमा बसेकालाई पनि कोरोना संक्रमित भयो । त्यसैले रुपैयाँ–पैसा, धनसम्पत्तिको घमण्ड गर्नु गलत हो । महामारीले यो कुरा सावित गरिदिएको  । म पुनः आग्रह गर्न चाहन्छु, कोरोनालाई हल्का र सामान्य रुपमा नलिऔं । नाक र मुख राम्रोसंग छोपिने गरी मास्क लगाउने, सेनिटाइजरको प्रयोग तथा बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने, भिडभाडमा नजाने, व्यक्ति व्यक्तिबीच दुरी कायम गर्ने, व्यक्तिगत सरसफाईमा जस्ता कुरामा ध्यान दिन सके कोरोना भाइरसको संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन सकिन्छ । 

    (डेण्टल सर्जन डा. आशुतोष शुक्लासंग गरिएको कुराकानीमा आधारित)

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij