सोमवार , भाद्र ८, २०८३
बुटवल, ८ भदौ । रुपन्देही उद्योग संघको ४८ औं वार्षिक साधारण सभा आगामी असोज २६ गते सोमबार हुने भएको छ । शनिबार बसेको संघको कार्यसमिति बैठकले वार्षिक साधारण सभा असोज २६ गते गर्ने निर्णय गर्नुका साथै यसको तयारीका लागि विभिन्न जिम्मेवारीहरु प्रदान गरेको हो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षमा सम्पन्न भएको बैठकले साधारण सभाको तयारीका लागि समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यविभाजन गरेको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।
साधारण सभामा विधान संशोधनका लागि निवर्तमान अध्यक्ष दिलिप सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । यो समितिले यसअघि भएको विधानलाई संशोधन गर्नका लागि साधारण सभामा सबै विधि समेटेर लैजानेछ । त्यसै गरी कार्यसमिति सदस्य किरण खरेलको संयोजकत्वमा किट ब्याग तथा खाना व्यवस्थापन समिति गठन भएको छ । साधारण सभामा वार्षिक प्रतिवेदन महासचिव सुमन बस्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विशाल वेल्वासेले तयार गर्नुहुनेछ ।
संघमा हाल १ हजार १ सय जना उद्योगी आबद्ध छन् । संघको ४८ औं वार्षिक साधारण सभा बुटवल उपमहानगरपालिका–४ स्थित संघको आफ्नै भवनमा सम्पन्न गरिने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij