२०८३, भाद्र ७ गते

Aug 23 2026 | २०८३, भाद्र ७ गते

गीत–संगीत, व्यवसाय र कृषि–उद्यमका त्रिवेणी बीबी पौडेल

आइतवार , भाद्र ७, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • गीत–संगीत भनेपछि हुरुक्कै हुने बीबी पौडेल, क्षेत्रीको पहाडघर बाग्लुङ् बाटाकाचौर हो । बरेङ गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका उनी एसएलसी गरेपछि भारतीय सेनामा भर्ति भए । सानै उमेरदेखि उनले स्कूलमा गीत गाउने र नाँच्ने गर्थे । त्यो कला सेनामा रहँदा झन् फस्टाउँदै गयो । सन् २००६ मा लाहुरबाट छुट्टी आउँदा पहिलोपटक उनले गैह्रीकुना खेत गीतलाई रेकर्डिङ्ग गरे । टेपरिकर्डरहरुमा घन्किए । त्यतिबेला त्यो गीतले गाउँघरमा झ्याली पिट्यो । उक्त गीतको क्यासेट चक्का खुबै विक्री समेत भयो ।

    निम्ता दिएको बोलको पञ्चेबाजा गीतले उनलाई जुरुक्कै उचाल्यो । सांगीतिक दुनियाँमा बीबी पौडेल भनेर चिनायो । त्यसै गरी गाउँको माया लोक–दोहोरी गीतले उनको सांगीतिक यात्रामा नयाँ पहिचान थप्यो । सन् २०१७ मा उनी भारतीय सेनाबाट निवृत्त भए । त्यसपछि उनको लगाव गीत–संगीत, होटल व्यवसाय र कृषि–उद्यममा गयो । त्यसमध्ये गीत–संगीतमा उनको ध्यान बढ्दै गएको छ ।

    यस वर्ष, तीजका लागि वासना मनैभरी कोसेली सबैका घरदैलामा ल्याइ पुर्याएका छन् । उनका शब्द–रचनामा लोकप्रिय कलाकार शान्तिश्री परियारले स्वर भरेकी छिन् । गीतलाई सुन्दर र सुनुम, सुनुम बनाइदिएकी छिन् । बीबी आफूले समेत उनीसँगै गाएका छन् । युवराज आचार्यले गीतमा संगीत भरेका छन् । मिठास सांगीतिक लयले गीतमा बुट्टा भरेको छ ।

    साहिर केसी र कला पुनको बेजोड नृत्य, अभिनय रहेको उक्त गीतमा नृत्य निर्देशकका रुपमा लोकेन्द्र शाहले आफ्नो क्षमता प्रदर्शन रहेका छन् । त्यसै गरी चर्चित छायाँकार तथा निर्देशक मनीष पन्थले उक्त तीजगीतको भिजुअलमा आफ्नो प्रतिभा र योग्यता प्रयोग गरेका छन् । प्राविधिक रुपमा समेत बेजोड बनेको उक्त गीतले बजार तताउने गायक तथा रचनाकार बीबी पौडेलको दावी छ ।

    समय सुहाउँदो, तीजको मर्मानुसार, तीज संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि उनले मायाको नजरमा तीजगीत बजारमा ल्याएका छन्, भिजुअल् गरेका छन् । दर्शक, स्रोताहरुले अत्यधिक मन पराइदिएका छन् । उनी आफूले मौलिक तीजगीतका लागि उत्कृष्ट शब्दहरु रचना गर्छन् । आफैले सुरिलो स्वरमा गाउँछन् । मनै छुने उनको कोकिलकण्ठको बयान गर्न सबैलाई रहर लाग्छ । साथै तीन महिना अघि बजारमा आएको लौरी टेकेर लोकदोहोरी गीतले खुबै चर्चा बटुलेको छ ।

    बीबी पौडेलले बुटवलमा मेरीगोल्ड होटल दाजुहरुको सहकार्यमा सञ्चालन गरेका छन् । देवदहको चरङ्गेमा दाजुसँगै मिलेर मेरीगोल्ड कृषि फर्म समेत सञ्चालन गरेका छन् । गीत–संगीत र कलाबाट मात्र सुख र समृद्धिको जीवनयापन गर्न कठिन रहेको बताउने उनले होटल व्यवसाय र कृषि फर्म सञ्चालनसँगै गीत–संगीतमा निरन्तरता दिने प्रतिवद्धता समेत जनाएका छन् ।

    दुई दाजुका भाइ र तीन दिनबहिनीका प्यारा बीबी पौडेल मानबहादुर र जनकुमारीका कान्छा छोरा हुन् । २०५८ मा गुल्मी शान्तिपुरकी गंगासँग लगनगाँठो कसेका बीबीका दुई छोराहरु स्नातक पढ्ने भइसकेका छन् । बाग्लुङ्गको माटोलाई माया गर्ने र चिनाउने अभियानका साथ लागिपरेका उनले बाग्लुङ–बाटाकाचौर रुपन्देही सम्पर्क समाजका अध्यक्ष समेत भएर सामाजिक सेवा र साँस्कृतिक उत्थानका काम गरिरहेका छन् । बाटाकाचौर गाउँकै प्यारो गीत गाएका छन् । सोही गाउँकै वृत्तचित्र निर्माणमा व्यवस्थापकको भूमिका निर्वाह गरेका छन् ।

    बीबी पौडेलले हरि बिजोग र जस्ताका तस्तै नामक टेली सिरियलमा अभिनय गरिसकेका छन् । त्यतिमात्र होइन रेशम बोहराको खोट नामक ठूलो पर्दाको फिल्ममा असईको भूमिका निर्वाह गर्न भ्याएका छन् । उनको खास रुची भलिबलमा छ ।  उनी राम्रो भलिबल खेलाडी समेत हुन् । श्याम वर्णका, छरितो शरीर, मृदुभाषी, व्यवसायिक कला र व्यवस्थापनमा योग्य बीबी पौडेलले राष्ट्रभक्ति र देशप्रेमका गीतहरु समेत लेखेका छन् । उनका डायरीका पानाहरुमा लोकदोहोरी,तीजका गीतहरु समेत यसैयसै मौन कैद भएका छन् । संगीतकारका धूनमा गुञ्जिन नपाएका उनका रचनाहरु त्यसै खेर जाने हुन् कि भन्ने उनको पिरलोलाई कसले बुझि देला र ?

    मार्मिक तथा मर्मस्पर्शी गीत लेखनमा निरन्तर गतिशील बीबी पौडेलको सांगीतिक यात्राले शिखर चुम्न सकून् । शुभेच्छा ।