२०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

‘भीम अस्पताल नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन्छ’

शनिवार , भाद्र ६, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, ६ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवास्थित भीम अस्पताल नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित हने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अस्पतालमा पहिलाभन्दा उल्लेखनीय सुधार भएको बताउँदै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले सेवाको भावनाले काम गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

    शुक्रबार आयोजित आर्थिक वर्ष २०८२–०८३ मा भीम अस्पतालबाट सञ्चालित स्वास्थ्य सेवाहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्नुहुँदै नगरप्रमुख खाँले यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो–‘यो अस्प्ताल नेपालकै उत्कृष्ट बन्छ भन्नेमा विश्वस्त छु । अस्पतालको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । बिरामीलाई भारत पठाउनुहुँदैन । अस्पतालबाट यो पसलमा औषधि खरीद गर्नुस् भन्नुहुँदैन । जनता जहाँ चाहन्छन्, त्यही उपचार गर्छन् र औषधि खरीद गर्छन् । राम्रो काम भएको छ, अझै मिहिनेत गर्नुहोस् ।’

    त्यस्तै भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले सीमित स्रोतसाधनका बाबजुद अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा एक सय शैयाको अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नयाँ भवनबाट सेवा थप प्रभावकारी भएको जनाउँदै उहाँले आगामी दिनमा पनि अस्पतालबाट विशिष्टकृत र गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीनै तहको सरकारबाट सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्ति गर्दै उहाँले भवन मात्र पर्याप्त नभइ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । मुटुको उपचार सेवा सञ्चालन गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    अस्पताल विकास समितिको सदस्य विष्णु भट्टराईले सबैको साथ र सहयोगले अस्पताल अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    अस्पताल प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. वर्षा थापाले वार्षिक समीक्षा कार्यक्रम विगतका कामको मूल्यांकन मात्र नभइ उपलब्धिबाट सिक्ने, समस्या तथा चुनौती पहिचान गर्ने र आगामी दिनमा प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवाको मार्गदर्शन तयार पार्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले सीमित स्रोतसाधन हुँदाहुँदै पनि स्वास्थ्य सेवा विस्तार, गुणस्तर सुधार, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र नयाँ सेवा विकासमा उल्लेखनीय प्रयास भएको उल्लेख गर्नुभयो । यी उपलब्धि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, विकास समितिका पदाधिकारी र सम्पूर्ण सरोकारवालाहरूको सामूहिक प्रयासको परिणाम भएको उहाँले भनाइ छ ।

    अस्पताल व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र )ले गत आर्थिक वर्षमा अस्पतालबाट प्रदान गरिएका सेवाको विस्तृत विवरण प्रस्तुत गर्दै लुम्बिनी प्रदेश सरकार, अस्पताल विकास समिति र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा आधुनिक प्रविधिसहित थप विशेषज्ञ सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

    kuueuee.JPG

    गोष्ठीमा अस्पतालको समग्र प्रगति, चुनौती र आगामी योजनाबारे छलफल तथा समीक्षा गरिएको थियो ।

    jjjj.JPG

    अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–०८३ मा ओपीडी सेवामार्फत २ लाख ६४ हजार ५ सय ३१ जनाले उपचार सेवा लिएका थिए । त्यस्तै आकस्मिक कक्ष (इमर्जेन्सी) मार्फत ४७ हजार ८ सय ११ जनाले उपचार सेवा लिएका छन् । वि.सं. १९९० सालमा भीम अस्पतालको स्थापना भएको थियो ।