बुधवार , भाद्र ३, २०८३
काठमाडौं, ३ भदौ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाहले सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको सुस्तता र सुशासनको अवस्थाप्रति प्रश्न उठाउनुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले सरकारले गर्ने प्रतिवद्धता र प्राप्त परिणामबीच ठूलो खाडल देखिएको भन्दै आलोचना गर्नुभएको हो । सांसद शाहले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संसद्ले दिएको निर्देशन र सरकारको पूर्ण तयारीको दाबी फिल्डमा नदेखिएको बताउनु भयो ।
दुई वर्षअघि संसदीय समितिले जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरी जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न दिएको सुझाव कार्यान्वयन नहुँदा अहिले थप क्षति भइरहेको उहाँको भनाइ छ ।
उहाँले बाजुराको त्रिवेणी नगरपालिकास्थित ताम्सु गाउँका ६० घरपरिवारमध्ये ५८ परिवार विस्थापित भएको र जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले जनजीवन आक्रान्त बनाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपन्न र निमुखा जनताका लागि हुनुपर्ने राज्य संयन्त्र मन्त्रीहरूको सेवामा मात्र केन्द्रित भएको आरोप लगाउनु भयो ।
राज्यको स्रोत र साधनको दुरुपयोग भएको विषयमा केन्द्रित हुँदै सांसद शाहले भन्नुभयो, ‘एकातिर जनता बाढी र पहिरोका कारण मृत्युवरण गरिरहेका छन्, अर्कोतिर सरकार सामान्य रुघाखोकी लागेका मन्त्रीको उद्धारका लागि सेनाको स्काई ट्रक प्रयोग गरिरहेको छ । यो कस्तो सुशासन हो ? विद्युत उत्पादन बढाउने र खपत प्रोत्साहित गर्ने भन्दै फेरि विद्युतमै कर लगाउनु विरोधाभाषपूर्ण छ ।’
सांसद शाहले सरकारको नीतिगत अस्थिरतालाई बच्पना निर्णयको संज्ञा दिनुभयो । शिक्षा, स्वास्थ्य र विद्युत जस्ता आधारभूत क्षेत्रमा कर लगाउने र पछि विरोध भएपछि फिर्ता लिने प्रवृत्तिले सरकारको अपरिपक्वता झल्काएको उहाँको तर्क छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij