२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

प्रथम ज्ञानपुञ्ज जिल्लास्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु

सोमवार , भाद्र १, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • बुटवल, १ भदौ । रुपन्देहीको बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कूल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । 

    प्रतियोगिताको उद्घाटन खेलमा अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कूलले देवसिद्ध इङ्लिस बोर्डिङ स्कूललाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमाञ्चक खेलमा अक्सफोर्डको जीतमा एलेक्स छन्त्यालले २ तथा नेल्सन रास्कोटीले १ गोल गरे । एलेक्स खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी सोमबार नै भएको दोस्रो खेलमा ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलले अन्नपूर्ण बोर्डिङ स्कुललाई ७–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रशर बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

    त्यस्तै तेस्रो खेलमा सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयले बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कूलविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ६–० को फराकिलो जीत दर्ता गर्याे । उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका नविन बी.के. ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

    त्यसै गरी चौथो खेलमा जनज्योति माध्यमिक विद्यालयले दिनकै सर्वाधिक प्रभावशाली नतिजा निकाल्दै सुंगाभा पब्लिक माध्यमिक विद्यालयलाई ९–० ले पराजित गर्याे । आक्रामक दबाब, उत्कृष्ट संयोजन तथा गोल गर्ने उच्च दक्षता प्रदर्शन गरेका अल्बिस गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

    सोमबार नै भएको पाँचौ तथा अन्तिम खेलमा दीप बोर्डिङ हाई स्कूललाई हराउँदै एभरग्रीन इङ्लिस बोर्डिङ स्कूल अघिल्लो चरणमा प्रवेश गरेको छ ।  कडा प्रतिष्पर्धाकाबीच एभरग्रीनले निर्णायक एक गोल गर्दै १–० को साँघुरो जीत हासिल गरेको हो ।  प्रतियोगितामा रुपन्देहीका ४२ विद्यालयका खेलाडीहरुले भाग लिएका छन । 

    प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले सरकार र संघबाट हुन नसकिरहेको खेल गतिविधिलाई निजी विद्यालयको अगुवाइमा गरिनु निकै सकरात्मक रहेको बताउनुभयो । उहाँले फुटबलको विकासमा विद्यालयहरुको योगदानबारे चर्चा गर्दै केही महिनाअघि ७७ वटै जिल्लाका विद्यालयहरुसँग सहकार्य गरेर ग्रासरुट खेल विकासका लागि खेलकुद सामग्री वितरण गरेको बताउनुभयो । यसलाई आगामी दिनमा समेत निरन्तरता दिने उहाँले बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यालय तहबाटै खेलाडी उत्पादन गरिनुपर्ने मान्यताका साथ निजी विद्यालयकातर्फबाट आफूहरुले अगुवाइ मात्रै गरेको बताउनुभयो । उहाँले ग्रासरुटबाट खेलकुदमा आबद्ध बालबालिकाहरु युरोपमा पछि गएर अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने गरेको उदाहरण दिदै उहाँले आफुहरुले पनि अब फुटबललाई कल्चरका रुपमा अघि बढाउने योजना सुनाउनुभयो । हरेक वर्ष पुरस्कार राशी र सहभागी टीम समेत बढाउने लक्ष्यसहित देशकै नमूना प्रतियोगिताका रुपमा अघि बढाउने उहाँले बताउनुभयो । हरेक विद्यालय एउटा एउटा खेललाई महत्वका साथ अघि बढाउन सके खेलाडी उत्पादनमा सहयोग हुने उहाँको दावी छ । 

    कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले फुटबलमा उत्साह थप्ने गरी यो महत्वपूर्ण खेल गतिविधि सञ्चालन भएको बताउनुभयो । उहाँले भविष्यमा खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, सिद्धार्थ केबलकारका नर बहादुर कार्की, एन्फा टेक्निकल सेन्टर बुटवलका डाईरेक्टर बुद्धि गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, विद्यायका सह–प्राचार्य भिम बस्नेत लगायतले सबै सरोकारवालाहरुको सहकार्यबाट नै खेल क्षेत्र विकास हुने बताउनुभयो । 

    प्रतियोगिताको मुख्य प्रायोजकमा सिद्धिबिनायक फुड्सले गरेको हो । प्रतियोगिता बुटवल देवीनगरस्थित एन्फा रंगशालामा प्रत्येक दिन बिहान ८ बजेदेखि हुने विद्यालयले जनाएको छ । प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।