२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

हेभेन्ली गार्डेन किड्स क्याम्पसद्वारा अटिजमसम्बन्धी सचेतना

सोमवार , भाद्र १, २०८३

  • 154
    Shares
  • 154
    Shares
  • भैरहवा, १ भदौ । रुपन्देहीको भैरहवामा आइतबार अटिजमसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । अटिजम भएका बालबालिकाको समयमै पहिचान, उचित मार्गदर्शन र पारिवारिक स्वीकार्यताका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अटिजमलाई समस्याका रूपमा मात्र नहेरी बालबालिकाको क्षमता पहिचान गर्दै आवश्यक सहयोग र समावेशी वातावरण प्रदान गर्नुपर्नेमा जोड दिइएको छ ।

    हेभन्ली गार्डेन किड्स क्याम्पसद्वारा आयोजित उक्त कार्यक्रममा डा. उत्सव कार्की र समिद कतिला श्रेष्ठले अटिजम भएका बालबालिकाको विकासका लागि समयमै पहिचान र आवश्यक सहयोग महत्वपूर्ण हुने बताउनुभयो । अभिभावक, विद्यालय तथा समुदायमा अटिजमसम्बन्धी सही बुझाइ र स्वीकार्यता बढाउनुपर्ने उहाँहरूको भनाइ थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले समाजप्रतिको दायित्व मेरो पनि हो भनेर यस्तो सचेतना कार्यक्रम आयोजना गरेको भन्दै हेभन्ली गार्डेन किड्स क्याम्पसको टीमप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो बच्चाको अवस्थालाई स्वीकार गर्दै उनीहरुलाई विशेष हेरचाहमा अभिभावकले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । उपप्रमुख अधिकारीले स्थानीय सरकार यस्ता बालबालिकाहरुको विकासमा र सहयोगका लागि संवेदनशील रहेको बताउनुभयो । 

    lllld.JPG

    त्यस्तै हेभन्ली गार्डेन किड्स क्याम्पसको प्रिन्सिपल रचना क्षेत्रीले अटिजम तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि सरकारले अघि सारेको सामान्य समावेशी शिक्षा नीति मात्र पर्याप्त नभएको बताउनुभयो । उहाँले विद्यालय र परिवारले बालबालिकाको व्यक्तिगत आवश्यकता र क्षमतालाई बुझेर थप सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा २०–२५ वर्ष र विद्यालय सञ्चालनमा १९ वर्षभन्दा बढीको अनुभवका आधारमा विशेष आवश्यकता भएका बालबालिकाका अभिभावकमा अझै पनि पर्याप्त सचेतना र स्वीकार्यता विकास हुन नसकेको क्षेत्रीले बताउनुभयो । कतिपय अभिभावकले आफ्ना बालबालिकामा देखिएका फरकपनलाई स्वीकार गर्न कठिन मान्ने गरेको उहाँको अनुभव छ । उहाँका अनुसार हेभन्ली गार्डेनमा एकजना बालबालिकाबाट सुरु भएको अभियानमा अहिले २५ देखि ३० जना बालबालिका जोडिएका छन् । तीमध्ये धेरै बालबालिकामा सुधार आएपछि मूलधारका विद्यालयमा अध्ययन गर्नसमेत सफल भएका छन् ।

    प्रिन्सिपल क्षेत्रीले १५ वर्षमुनिका बालबालिकालाई समयमै पहिचान गरी आवश्यक मार्गदर्शन र तालिम दिन सके सुधारको सम्भावना उच्च हुने बताउनुभयो । यही कारण अटिजम भएका बालबालिकाका अभिभावकलाई सचेत गराउने र आवश्यक सहयोगका उपायबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

    कार्यक्रममा अभिभावक किशोर पंगेनीले २ वर्षीय छोरामा अटिजमका लक्षण देखिएपछि नजिकैको मन्टेश्रीमा भर्ना गरे पनि दुई वर्षसम्म अपेक्षित विकास नदेखिएपछि आफू चिन्तित भएको अनुभव सुनाउनुभयो । पछि हेभन्ली गार्डेन किड्स क्याम्पसमा परामर्श लिएर बालकलाई भर्ना गरेपछि उल्लेख्य तथा सकारात्मक परिवर्तन आएको उहाँले बताउनुभयो ।

    अटिजम भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानलाई अन्य बालबालिकासँग तुलना नगरी धैर्य र फरक दृष्टिकोणका साथ अघि बढाउनुपर्नेमा पंगेनीको सुझाव छ । आफ्नो छोराको अवस्थालाई आफूले दुःखका रूपमा नभइ जीवनको एउटा अवसरका रूपमा स्वीकार गरेको बताउँदै उहाँले बालकको यात्रामा जीवनभर साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । विद्यालयले अटिजम तथा अपांगता भएका व्यक्तिहरूसम्बन्धी स्थानीय तथ्यांक र पहुँच विस्तारमा समेत सहकार्य गर्दै समुदायस्तरमा सचेतना बढाउने प्रयास भइरहेको जनाएको छ ।