२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

आज लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

सोमवार , भाद्र १, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • दाङ, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार (आज) प्रदेश सभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । प्रदेश सभा सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौं अधिवेशनको १९ औं बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।
    सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनुहुनेछ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

    मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    नेपाली काँग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

    लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गर्नुभएको छ ।