२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

ध्यानमा विद्यार्थी, सकारात्मक सोचको खोजी

आइतवार , श्रावण ३१, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • बुटवल, ३१ साउन । लुम्बिनी वाणिज्य क्याम्पस, व्यवस्थापन विभागको आयोजनामा एमबीए–बिएफको ११ औं शैक्षिक ब्याचका विद्यार्थीका लागि लुम्बिनीस्थित जेतवनमा आयोजित दुईदिने ध्यान शिविर सम्पन्न भएको छ ।

    विद्यार्थीमा सकारात्मक सोच, आत्मचिन्तन, मानसिक शान्ति तथा आध्यात्मिक चेतना विकास गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ध्यान, प्रार्थना, आत्मचिन्तन, अनुभव आदानप्रदान तथा ऐतिहासिक स्थलको अवलोकन गराइएको थियो ।

    शिविरको पहिलो दिन विद्यार्थीले लुम्बिनीस्थित संग्रहालयको अवलोकन गरेका थिए । सो अवसरमा संग्रहालयका निर्देशकलाई व्यवस्थापन विभागका कार्यक्रम निर्देशक डा. भगवती प्रसाद चौधरी र व्यवस्थापन विभाग प्रमुख उप–प्राध्यापक नीरज गौतमले खादा अर्पण गरी स्वागत गर्नुभएको थियो ।

    संग्रहालय अवलोकनका क्रममा विद्यार्थीले भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन मूर्ति, विभिन्न कालखण्डका बुद्धका स्वरूप तथा बुद्धकालीन सामग्रीबारे जानकारी लिएका थिए । त्यस क्रममा ती सामग्रीको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वबारे समेत जानकारी गराइएको थियो ।

    संग्रहालय अवलोकनपछि जेतवनमा ध्यान सत्र सञ्चालन गरिएको थियो । स्वामीजीको मार्गदर्शनमा कुण्डलिनी ध्यानका चार चरणको अभ्यास गराइएको थियो । ध्यानले मानिसको शारीरिक तथा मानसिक तनाव व्यवस्थापनमा सहयोग पुर्याउने तथा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

    पहिलो दिनको साँझ विद्यार्थीले मायादेवी मन्दिरमा आरतीमा सहभागीता जनाएका थिए । त्यसपछि ध्यान, आत्मचिन्तन तथा आफ्ना अनुभवलाई प्रतिबिम्बित गर्ने सत्रसँगै नृत्य ध्यानसमेत सञ्चालन गरिएको थियो ।

    शिविरको दोस्रो दिन ‘गुरु ब्रह्मा, गुरु विष्णु’ तथा ‘बुद्धं शरणं गच्छामि’ प्रार्थनाबाट कार्यक्रम सुरु गरिएको थियो । स्वामीजीको मार्गदर्शनमा गतिशील ध्यानका पाँच चरणअन्तर्गत श्वासप्रश्वास, भावनात्मक अभिव्यक्ति, गुञ्जन, उत्सव र शवासनको अभ्यास गराइएको थियो । दोस्रो दिनको बिहान ११ बजे सुरु भएको ध्यान सत्रमा एमबिए विद्यार्थी विजय राज बामरेलले स्वामीजीबाट विशेष आध्यात्मिक आशीर्वाद ग्रहण गरेका थिए । सो अवसरमा उनलाई माला तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसपछि विद्यार्थी विभिन्न भजनमा नृत्य गर्दै भक्तिभाव र सकारात्मक ऊर्जाको अभ्यासमा सहभागी भएका थिए ।

    अनुभव तथा प्रतिक्रिया आदानप्रदान कार्यक्रममा व्यवस्थापन विभाग प्रमुख उप–प्राध्यापक निरज गौतमले ध्यानलाई केवल धार्मिक वा आध्यात्मिक अभ्यासका रूपमा मात्र नहेरी विद्यार्थीको दैनिक जीवन र अध्ययनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले नियमित ध्यानले विद्यार्थीमा एकाग्रता, आत्मअनुशासन र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताउँदै व्यवस्थापन अध्ययनसँगै मानसिक स्वास्थ्य र व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो–‘व्यवस्थापन शिक्षाले विद्यार्थीलाई नेतृत्व र निर्णय क्षमताका लागि तयार गर्छ । त्यसका लागि बाह्य ज्ञानसँगै आफूलाई बुझ्ने र आफ्ना भावनालाई व्यवस्थापन गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ । ध्यानले यसका लागि महत्वपूर्ण आधार तयार गर्न सक्छ ।’

    कार्यक्रममा व्यवस्थापन विभागका कार्यक्रम निर्देशक डा. भगवतीप्रसाद चौधरीले ओशो, ध्यान, भक्ति, समर्पण र आत्मचिन्तनबिचको सम्बन्धबारे चर्चा गर्दै ध्यानलाई जीवनको नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    विद्यार्थीहरूले ध्यान शिविरले आफूहरूमा शान्त रहने, सकारात्मक सोच्ने, आत्मचिन्तन गर्ने तथा दैनिक जीवनका चुनौतीलाई सहज रूपमा सामना गर्ने दृष्टिकोण विकास भएको अनुभव सुनाउनुभएको थियो ।

    व्यवस्थापन विभागका अनुसार विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सकारात्मक सोच, आत्मअनुशासन, मानसिक शान्ति र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।