२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

ग्रामीण विकास बैंक लघुवित्त वित्तीय संस्थाको वार्षिक उत्सव

आइतवार , श्रावण ३१, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • बुटवल, ३१ साउन । नेपालमा गरीबी निवारण गर्ने उद्देश्यसहित तीन दशकअघि स्थापना भएको ग्रामीण विकास बैंक लघुवित्त वित्तीय संस्था लि.को वार्षिक उत्सव समारोह-२०८३ रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । देशभर ५७ जिल्लामा १९४ शाखा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको सो बैंकको वार्षिक उत्सव समारोहमा १ सय ९४ जना उत्कृष्ट ग्राहक सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । बैंकका अध्यक्ष डा.नहकुल केसी, कार्यकारी प्रमुख श्यामकुमार कटुवाल लगायतले उनीहरुलाई नगद रु. १० हजारसहित पुरस्कृत तथा सम्मान गर्नुभएको हो । 

    त्यसै गरी शाखा कार्यालयहरुमध्ये बैंकको कार्यसम्पादन मुल्यांकनका आधारमा लालमटिया दाङ प्रथम भइ उत्कृष्ट शाखा बन्न सफल भएको छ । ईनरुवा शाखा सुनसरी दोस्रो र सेमलार शाखा रुपन्देही तेस्रो बन्न सफल भएका थिए । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

    ddlll.JPG

    वि.सं. २०५१ सालमा क्षेत्रीयस्तरको ग्रामीण विकास बैंकबाट सुरु भएको यात्रा वि.सं २०७१ सालमा ५ वटा क्षेत्रीयस्तरका बैंकहरु गाभिएर राष्ट्रियस्तरको नेपाल ग्रामीण विकास बैंक बनेको थियो । त्यस्तै १ वर्षअघि समाज बिकास बैंकसँग मर्ज भइ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बनेको हो । 

    उत्कृष्ट शाखा तथा उत्कृष्ट ग्राहकहरुलाई पुरस्कार प्रदान गर्दै सञ्चालक समितिका अध्यक्ष डा.नहकुल केसीले नेपालको ग्रामीण क्षेत्रबाट गरीबी निवारण गर्नु बैंकको मुल उद्देश्य रहेकोले सरकार, बैंकका संचालक, कर्मचारी वर्ग र ग्राहक सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालको वित्तीय समावेशीकरण, गरीबी न्यूनीकरण र महिला सशक्तिकरणको लागि महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै कर्जाको उचित उपयोग, वित्तीय साक्षरता, उद्यमशीलता विकास र ऋणीको क्षमता अभिवृद्धिमा थप ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

    संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले ग्रामीण क्षेत्रका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा जोड्दै अघि बढ्न सके ग्रामीण विकास लघुवित्तले आर्थिक तथा सामाजिक रूपान्तरणमा अझ प्रभावकारी योगदान पुर्याउन सकिने बताउनुभयो । 

    संस्थाका अधिकृत मधुसुदन पोख्रेलको सञ्चालनमा भएको सो कार्यक्रममा संस्थाका संचालक समिति सदस्य अच्यूत गौतम, आरएसडीसी लघुवित्त वित्तिय संस्थाका कार्यकारी प्रमुख ध्रुवकुमार पौडेल लगायतले ग्रामीण क्षेत्रमा लघुवित्तमार्फत आयआर्जन र रोजगारीका अवसर बढाउन ग्रामीण विकास बैंकहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

    आर्थिक वर्ष २०८२ असार मसान्तसम्म कुल ८४ हजार १ सय १२ महिला र ८ हजार ७ सय ८४ गरी जम्मा ९२ हजार ८ सय ९६ ग्राहक संख्या रहेको सो बैंकले १५ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ६७ लाख १२ हजार ६ सय ८१ रुपैयाँ अपरिस्कृत मुनाफा आर्जन गर्न सफल भएको सो संस्थाका नायब कार्यकारी प्रमुख दीपक पाण्डेले बताउनुभयो । यसअघि वार्षिक उत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा सुस्तःमनस्थिति बाल विद्या मन्दिरमा आश्रित बालबालिकालाई पोशाक वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।