२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

जन्मदिनलाई शिक्षामा रूपान्तरण : केडियाबाट छात्रवृत्ति कोषमा सहयोग

आइतवार , श्रावण ३१, २०८३

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, ३१ साउन । अधिकांश मानिसले जन्मदिन व्यक्तिगत खुसी साटासाट गरेर मनाउने गर्छन् । तर, रुपन्देहीका समाजसेवी तथा उद्योगी रोटरियन ताराचन्द केडियाले आफ्नो ८३ औँ जन्मदिनलाई शिक्षा प्रवद्र्धनसँग जोड्दै छात्रवृत्ति कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

    केडियाले स्वर्गीय शंकरलाल केडिया छात्रवृत्ति कार्यक्रमको अक्षय कोषका लागि उक्त रकम प्रदान गर्नुभएको हो । रोटरी क्लब अफ बुटवल चौतारीको सहकार्यमा सञ्चालन हुने छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य राखिएको छ ।

    जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो योगदान भएको रोटरियन केडियाले बताउनुभयो । ‘समाजले मलाई धेरै कुरा दिएको छ । अब समाजलाई केही फर्काउने समय हो । शिक्षा नै व्यक्तिको जीवन परिवर्तन गर्ने सबैभन्दा बलियो माध्यम भएकाले छात्रवृत्ति कोषमा सहयोग गरेको हुँ, ’उहाँले भन्नुभयो–‘मेरो जन्मदिनको अवसरमा गरिएको यो सानो योगदानले कुनै विद्यार्थीको भविष्य उज्यालो बनाउन सहयोग पुग्यो भने त्यसलाई मेरो जीवनको ठूलो उपलब्धि ठान्नेछु ।’

    रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष वासुदेव भुसालले केडियाको सहयोगले छात्रवृत्ति कार्यक्रमलाई थप बलियो बनाएको बताउनुभयो । ‘उहाँको उदारता केवल आर्थिक सहयोग मात्र होइन, समाजका अन्य व्यक्तिलाई पनि शिक्षामा योगदान गर्न प्रेरित गर्ने उदाहरण हो,’ भुसालले भन्नुभयो–‘अक्षयकोषको रकमबाट दीर्घकालसम्म विद्यार्थीले लाभ लिन सक्नेछन् ।’

    रोटरी बुटवल चौतारीका पूर्वअध्यक्ष एवं वर्ष २०२६–०२७ का असाइन एजी नुमेन्द्र पौडेलले जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो । ‘सामान्यतः जन्मदिन व्यक्तिगत उत्सवका रूपमा मनाइन्छ । तर, केडियाजीले त्यसलाई समाजका लागि उपयोगी अवसरमा बदल्नुभएको छ,’उहाँले भन्नुभयो–‘यस्तो कार्यले समाजमा दान, सहयोग र शैक्षिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह गर्छ ।’

    क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले छात्रवृत्ति कार्यक्रमको दीर्घकालीन प्रभाव रहने बताउनुभयो । ‘कुनै पनि समाजको समृद्धि शिक्षित नागरिकबाट मात्र सम्भव हुन्छ,’उनले भन्नुभयो–‘अक्षयकोषमा गरिएको यस्तो योगदानले वर्षौंसम्म विद्यार्थीलाई सहयोग पुग्ने भएकाले यसको महत्व तत्काल देखिनेभन्दा धेरै ठूलो छ ।’

    रोटरी क्लब अफ बुटवल चौतारीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका अनुसार स्वर्गीय शंकरलाल केडिया छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

    केडियाको सहयोगले छात्रवृत्ति कोषलाई थप सुदृढ बनाउनुका साथै जन्मदिनलाई सामाजिक योगदानको अवसरका रूपमा मनाउने सकारात्मक सन्देशसमेत दिएको सरोकारवालाको भनाइ छ ।