२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आज २७ औं मदन–आश्रित स्मृति दिवस

सोमवार , जेठ ३, २०७८

बुटवल, ३ जेठ । आज २७ औं मदन–आश्रित स्मृति दिवस । ठिक २८ वर्ष अगाडि २०५१ साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा परि नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेताद्वय भण्डारी र आश्रितको दुःखद निधनले तत्कालिन अवस्थामा नयाँ नेपाल निर्माणको संघारमा रहेको नेपाली कम्यूनिष्ट क्रान्तिमा अपुरणीय क्षति भएको दिनका रुपमा आजको दिनलाई लिने गरिएको एमाले नेताहरु बताउँछन् ।

नेपाली समाजको विकासक्रम र ऐतिहासिकतासँग मेल खाने सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवादका प्रतिपादक भण्डारी र कुशल संगठक आश्रितको निधनले नेपालको कम्यूनिष्ट आन्दोलनलाई एकताबद्ध र सशक्त ढंगले अघि बढाउन सक्ने नेताको अभाव खड्किएको नेताहरु बताउँछन् ।

यसै सन्दर्भमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक वक्तव्य जारी गर्दै दिवंगत नेता भण्डारी र आश्रितप्रति उच्च सम्मानसहित  भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रम ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका साथै अतुलनीय रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली समाजको ऐतिहासिक विकासक्रम र विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षा गरी मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेको स्मरण गरेका छन् । 

जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसले लोकतन्त्रलाई सामाजिक न्यायसंग जोड्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन मार्गदर्शन गरिरहेको पनि उल्लेख गरेका छन् ।