बुधवार , श्रावण १३, २०८३
काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सुनसरीलगायत विभिन्न जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा बुधवार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि बोल्दै लिङदेनले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आह्वान गरिएको उक्त बैठकले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सामुहिक अपील गर्ने निर्णय गरेको बताउनु भयो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले बैठकको प्रकृति र सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष लिङदेनले तराई–मधेसका क्षेत्रमा विशेषगरी हिन्दु धर्मावलम्बीहरूको चाडपर्वका समयमा यस्ता घटनाहरू पटक–पटक दोहोरिनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो । सुरक्षा व्यवस्थामा देखिएका कमजोरीप्रति प्रश्न उठाउँदै लिङदेनले प्रहरीद्वारा गोली प्रहार हुनु र लगत्तै सेना परिचालन गर्नुपर्ने परिस्थिति निर्माण हुनुले सुरक्षा संयन्त्र चुकेको दाबी गर्नुभयो ।
विगतका आन्दोलनहरूमा भएका यस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिने गरेको स्मरण गराउँदै उहाँले यस पटकको घटनामा सरकार किन गैरजिम्मेवार बनेको भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसलाई केवल एउटा स्थान विशेषको घटनाका रूपमा मात्र हेरिनु हुँदैन । सरकारले यस समस्याको जडसम्म पुगेर दीर्घकालीन समाधान खोज्नुपर्छ । बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुनेगरी राज्यले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ ।’
प्रधानमन्त्रीको ढिलो प्रतिक्रियाप्रति पनि उहाँले आलोचना गर्नुभयो । घटना भएको दुई दिनपछि मात्र सामाजिक सञ्जालमार्फत राज्य जिम्मेवार रहेको भनी आएको सन्देशले सरकारको सक्रियतामाथि प्रश्न उब्जाएको लिङदेनको तर्क छ । बैठकमा राप्रपाले सुरक्षा संयन्त्रको असफलता र सरकारको उदासीनताबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन सरकारलाई सचेत गराएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij