२०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारको गतिविधिले संविधान र राष्ट्रिय स्वाभिमान संकटमा : छविलाल विश्वकर्मा

मंगलवार , श्रावण १२, २०८३

  • 304
    Shares
  • 304
    Shares
  • अर्घाखाँची, १२ साउन । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले वर्तमान सरकारका गतिविधिका कारण मुलुकको संविधान, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता तथा लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको आरोप लगाउनुभएको छ ।

    प्रेस चौतारी नेपाल जिल्ला समिति अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव विश्वकर्माले सरकारले नीति, विधि र लोकतान्त्रिक मूल्य–मान्यतालाई मिच्दै शासन सञ्चालन गरिरहेको आरोप लगाउनुभयो ।

    सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै यही प्रवृत्ति कायम रहे मुलुकले गम्भीर राजनीतिक तथा संवैधानिक चुनौती सामना गर्नुपर्ने उहाँले चेतावनी दिनुभयो । नेपालको परराष्ट्र नीतिबारे धारणा राख्दै उहाँले नेपालले पञ्चशीलको सिद्वान्तका आधारमा छिमेकी राष्ट्रहरूसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्नुपर्ने भए पनि वर्तमान सरकारले असन्तुलित सम्बन्ध कायम गरेको बताउनुभयो । एक चीन नीतिभन्दा बाहिर गएर दलाई लामासम्बन्धी गतिविधिलाई बढावा दिएको भन्दै उहाँले त्यसले नेपालको स्थापित परराष्ट्र नीतिमा नकारात्मक प्रभाव पारेको टिप्पणी गर्नुभयो ।

    भारतसँगको सम्बन्धका विषयमा सरकारले दिएको ‘नेपालले भारतको सीमा मिच्यो’ भन्ने अभिव्यक्तिलाई उहाँले राष्ट्रघाती र तर्कहीन टिप्पणीको संज्ञा दिनुभयो । राष्ट्रिय हित र कूटनीतिक मर्यादालाई ध्यानमा राखेर मात्र यस्ता विषयमा धारणा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ ।

    राजनीतिक सहकार्यका विषयमा बोल्दै विश्वकर्माले नेकपा (एमाले) र नेपाली काँग्रेसबीचको सहकार्य काँग्रेसकै कारण अन्त्य भएको दावी गर्नुभयो । हाल नेकपासँग प्रदेश सरकार निर्माणका लागि मात्र सहकार्य भइरहेको उल्लेख गर्दै उहाँले सम्बन्ध अझ सुदृढ बन्दै गए, जनता र कार्यकर्ताको चाहना भए स्थानीय तह र प्रदेश तहको निर्वाचनमा समेत सहकार्य हुन सक्ने बताउनुभयो । यद्यपि यस्तो निर्णय केन्द्रबाट नभइ कार्यकर्ता, जनभावना र राजनीतिक आवश्यकताका आधारमा हुने उहाँले स्पष्ट पार्नुभयो ।

    पूर्वमन्त्री समेत रहनुभएका नेता विश्वकर्माले एमालेभित्रको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै पार्टी नीति, नेतृत्व, विधि, विधान, कार्यशैली र पुस्तान्तरणका विषयमा आवश्यक सुधार गर्न तथा त्यागका साथ अघि बढ्न तयार रहेको बताउनुभयो । पार्टीलाई अझ बलियो, अनुशासित र जनमुखी बनाउने दिशामा एमाले प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारको नेतृत्वबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सचिव विश्वकर्माले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय केन्द्रले नगर्ने स्पष्ट पार्नुभयो । प्रदेशका सांसदहरू तथा सहकार्य गर्ने राजनीतिक दलहरूको राय र सहमतिका आधारमा निर्णय हुने बताउँदै उहाँले मन्त्रिपरिषद् केही दिनभित्र पुनर्गठन हुने बताउनुभयो।

    प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष नवीन केसीको अध्यक्षता र सचिव नवीन रसाइलीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समसामयिक राष्ट्रिय राजनीति, सरकारको कार्यसम्पादन, परराष्ट्र नीति, संविधान कार्यान्वयन, प्रदेश सरकारको नेतृत्व तथा एमालेको आगामी राजनीतिक रणनीतिबारे पत्रकारहरूले राखेका जिज्ञासाको सचिव विश्वकर्माले जवाफ दिनुभएको थियो । उहाँले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै एमालेले जनताको विश्वास अझ मजबुत बनाउँदै अघि बढ्ने बताउनुभयो ।

    पत्रकार सम्मेलनमा नेकपा (एमाले) अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसाललगायत जिल्ला तहका नेताहरूको उपस्थिति थियो ।