सोमवार , श्रावण ११, २०८३
बुटवल, ११ साउन । इन्जिनियर तथा आर्किटेकहरू भौतिक विकास र पूर्वाधार निर्माणका सुत्रधार मात्र नभइ सामाजिक विकास र रूपान्तरणका पनि महत्वपूर्ण साझेदार भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ६४ औं इन्जिनियर्स दिवसका अवसरमा रुपन्देहीको बुटवलमा आयोजित सम्मान कार्यक्रममा सहभागीहरुले वक्ताहरुले आफ्नो पेशागत जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि इन्जिनियरहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका थिए ।
नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको समापनका अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख (मेयर) खेलराज पाण्डेयले भौतिक पुर्वाधार बिकासका साथै सामाजिक विकासमा ईन्जिनियरहरुले खेलेको भुमिका उल्लेखनीय रहेको बताउनुभयो । उहाँले समयअनुकुल थप रचनात्मक बन्न आग्रह गर्दै जनप्रतिनिधि र प्राविधिकहरुको बलियो सहकार्य र समन्वयबाट मात्रै देश निर्माण सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष ई.महेश्वर लम्सालले संस्थाको स्थापना कालदेखि हालसम्मका उपलब्धीबारे प्रकाश पार्नुभएको थियो । उहाँले ईन्जिनियर्स एसोसियसनकाइन्जिनियर्स एशोसियशनको नेतृत्व व्यवसायिक हकहित, क्षमता अभिवृद्धि तथा सामाजिक सेवाका क्षेत्रमा एशोसिएसन निरन्तर सक्रिय रहेको बताउनु भयो।बताउनुभयो । यस वर्ष दौड, ब्याडमिन्टन, फुटसललगायत खेलकुद गतिविधिमार्फत सदस्यहरूबीच आपसी भाइचारा र सहकार्यको भावना थप मजबुत बनाउन सफल भएको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष कुसुमराज ज्ञवाली, लुम्बिनी इन्जिनियरिङ कलेजका रामचन्द्र ढकाल, नेपाल इन्जिनियर्स एशोसिएसनका केन्द्रीय सचिव ई. विनोद प्रकाश पण्डित, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ई. राम पराजुली, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सहदेव खड्का तथा एशोसिएसनका उपाध्यक्ष शिवप्रसाद तिवारीले लुम्बिनी प्रदेशले देशभरमै उत्कृष्ट कार्यसम्पादन गर्दै इन्जिनियरिङ क्षेत्रमा उदाहरणीय भूमिका खेलेको बताउनुभयो । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले इन्जिनियरिङ क्षेत्रलाई थप प्रभावकारी, छिटो र नवप्रवर्तनमुखी बनाएको भए पनि यसको बढ्दो प्रयोगसँगै उर्जा खपत, वातावरणीय प्रभाव तथा दिगोपनाका चुनौतीहरू पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
ती चुनौतीलाई सम्बोधन गर्दै प्रविधिको जिम्मेवार र सन्तुलित प्रयोग आवश्यक रहेको सहभागी वक्ताहरुको धारणा थियो । वक्ताहरूले रुपन्देहीलाई इन्जिनियर उत्पादन गर्ने प्रमुख शैक्षिक केन्द्रका रूपमा उल्लेख गर्दै लुम्बिनी इन्जिनियरिङ कलेजबाट हालसम्म १५ हजारभन्दा बढी इन्जिनियर उत्पादन भएको दावी गरेका थिए ।
यसैबीच कार्यक्रममा प्रोभिन्स इन्जिनियर एक्सिलेन्स अवार्डबाट ई.प्रविना घिमिरे, ई. हितेन्द्र रायमाझी तथा कृष्णलिला कन्स्ट्रक्सन प्रालिका ई. सचिन थापालाई विशेष सम्मान गरिएको एशोसिएसनका सचिव प्रवेश पौडेलले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रमले इन्जिनियरहरूबीच व्यवसायिक एकता, अनुभव आदानप्रदान तथा सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ बनाएको आयोजकको विश्वास छ । स्थापना दिवसमा बिभिन्न खेलकुद, सामाजिक उत्तरदायित्व, सम्मान तथा शुभकामना आदानप्रदान लगायत विविध रचनात्मक गतिविधिमार्फत दिवस मनाइएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij