२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

घुम्दैफिर्दै गामतिर

शनिवार , श्रावण ९, २०८३

  • 409
    Shares
  • 409
    Shares
  • घुम्नु, रमाइलो यात्रा हो । यति मात्र होइन, नयाँ वस्तु देख्नु, नौलो परिवेशमा घुल्नु, वातावरणमैत्री हुनु, एकआपसमा परिचित हुनु पनि हो । संसारभरका मानिस कही न कही घुमेकै हुन्छन् । कसैको घुमाइ छोटो र छिटो हुन्छ । कसैकसैको यात्रा लामो हुन पनि सक्छ । कसैले हाइकिङ्ग गर्छन् । कसैले भ्रमण गर्छन् । कसैले आफ्ना वनपाखा, वारीपारी डुल्छन्, घुम्छन् । कोही आफ्नो देश छाडेर अर्के देश वा विदेश पुग्छन् ।

    ढुंगे युगमा मानिसहरु डुल्दै, सिकार गर्दै आफ्नो जंगली–जीवन गुजार्थे । आफूलाई बचाउनका लागि सिकार गर्न टाढाटाढा पुग्थे । कहिले जंगली जनावरहरुबाट बाँच्न दौडेर रुख चढ्थे । यी त इतिहासका कुरा भए । मानिसहरुले आधुनिक युगमा समेत रमाइलो, मनोरञ्जनका लागि घुम्ने, डुल्ने काम गर्दैछन् ।

    घुम्नु पनि एक किसिमको थेरापी हो । घुम्दा, मनको रहरमात्र मेटिने होइन, धेरै कुराको आदानप्रदान, लेनदेन हुने गर्छ । मनका भावनामात्र साटासाट होइन, विचारको सम्प्रेषण समेत हुने गर्छ । नेपालका हरेक गाउँठाउँका विविध तरिकाले नाम राखिएका छन् । त्यसका बारेमा आ–आफ्नै किंवन्दती छन् । आ–आफ्नै जनश्रुतिहरु छन् ।

    घुम्दैफिर्दै यसपाली पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ को लग्धुवा गाउँ, मरेक, सिस्नेखोला, मस्याम हटिया पुग्ने अवसर मिल्यो । मेरो साथमा फिल्म निर्देशक मनीष पन्थ, सहकारी अभियन्ता बेनप्रसाद थापा, ड्रोन मास्टर अमृत भुसाल थिए । दिउँसो १ बज्दै गर्दा बुटवलबाट चिडियाखोला, सिद्धबाबा, हेडवक्र्स, कल्ली मर्ने गहिरा, दोभान, बीसमेल, भूतखोला (सिद्धसरोवर), अर्घाछाप, ज्यामिरे हुँदै झुम्सा सडक विभागको क्याम्प नजिकैबाट उत्तरतिर उकालो हान्नियौं ।

    बेनुको मोटरसाईकिल उकालोमा पुत्तायो । मनीषको मोटरसाईकल भने ल्याडक्रुजरजस्तै उकालो बाटोमा कुद्यो । घुम्ति, ग्राबेल बाटो अनि साउने भेलले बाटोलाई खोलेको पनि थियो । तैपनि त्यतिको ग्राबेल बाटोलाई नराम्रो मान्न सकिन्न । झुम्सा, सडक विभागको क्याम्पदेखि करिब २० मिनेट भट्भटेको यात्रापछि सुन्दर, सफा, स्वच्छ र रमणीय गाउँ लग्धुवा पुगियो ।

    मोटरसाईकल रोकिएपछि चौपारीमा हावा खार्दै गरेका ईश्वरप्रसाद पाण्डेय, गोपाल बस्याल, पूर्णप्रसाद सापकोटा, पूर्णिसरा चिदीलगायतसँग नमस्कार आदानप्रदान भयो । पूर्णिसरा दिदीले मोही पिलाइन् । मनिष र बेनुले सास नफेरेर मोही तन्काए, उनीहरुलाई मोही खुब रुच्दोरहेछ ।

    श्रीनगर अनलाईन मिडियाको कार्यक्रम घुम्दैफिर्दैका लागि बातचित भयो । त्यहाँ उत्पादन हुने झिनुवा धान, चामल, लौधुवाली आलु, ड्राइगन फ्रूटस्, तरकारी र पशुपालनका बारेमा ईश्वरप्रसादले लामो कुरा गरे । पूर्णप्रसाद सापकोटाले खाली, बाँझो जग्गामा कफी खेती गर्न सकिएमा उत्तम हुने संकेत गरे । पूर्णिसरा दिदीले तरकारीखेती गरेर श्रीमान् विदेश जाँदाको ऋण, जग्गा खरिद गर्दाको कर्जा सबै चुक्दा गरेको र वर्षमा दुई, तीन लाख सजिलै कमाउन सकिने बताइन् । श्रीमान् र बुहारीको सहयोगमा ७ रोपनी जग्गामा तरकारीखेती गरेको सुनाइरहँदा पूर्णिसरा दिदीको अनुहारमा खुसीको झिल्को देखिन्थ्यो ।

    छिमेकी गाउँ, मरेकमा रहेको सरस्वती प्राविका प्रअ लक्ष्मण पाण्डेयले लग्धुवा गाउँमा रहेको आफ्नो खेतबारीमा ड्रागनखेती गरेर मनग्य पैसा कमाउन थालेको उनै गाउँलेहरुले सुनाए । पशुपालन कम हुन थालेको कारण समेत थाहा पाइयो । पाका, पुरानाहरु गाउँमा भए पनि युवा पुस्ताहरु देश, विदेश र शहरतिर ताकिएको कुरा हाम्रो लागि नौलो विषय रहेन । गाउँमा झिनुवा धानको उत्पादन राम्रो हुने गथ्र्यो तर अहिले घट्दै गएको रहेछ । यो धानको चामल भान्सामा पकाउँदा बाहिर बसाउँछ । मिठो र स्वादिलो विपत्तै । यो धानको बारेमा नार्कलाई जानकारी दिल्याउन सकिएमा जाती हुने थियो । लौधुवाली साना आलुहरु पहिलापहिला मानापाथीमा नाँपेर बेच्ने चलन थियो । अचेल किलोको सत्तरी रुप्पे रे । सिलौटामा थिचेर, कराहीमा परपर्ति भुटेर, त्यसमा तिनाउ बगाउँदा जिभ्रोमा नै झुण्डिने स्वाद प्राप्त हुन्छ ।

    मरेक गाउँ पुगियो । बटौलीबाट नुवाकोटहुँदै नून बोकेर दोभानको बोटेगाउँ, सालबास, रानीबास हुँदै मरेक आइपुगिन्छ । यो पुरानो जक्सन हो । त्यहाँबाट हामी सिस्ने खोलाहुँदै अलि पर गाउँ पुगियो । त्यहाँ भेटिए टेमबहादुर बगाले मगर । उनले भूतपूर्व सैनिक बंगुर तथा पशुपंक्षी फर्म खोलेर बसेका छन् । निवृत्त नेपाली सैनिक उनले बंगुर पालेको देख्दा पनि रहरै जाग्छ । वर्षमा करिव एक सयभन्दा बढी बंगुरका भुना बेचेर मनग्यै पैसा कमाउँदा रहेछन् ।

    सिस्नेखोला टेमबहादुरको घरबाट ग्रीन चिया पिएर हामी मस्याम हटियाका लागि उक्लियौं । मस्याम हटियाका भूपाल दाइलाई सिस्नेखोलाबाटै फोन गरेर चारवटा चाउचाउमा चारवटा अण्डा मिसाएर पकाउन भनेपछि भट्भटेमा पछाडि नफर्केर कुदेका थियौं । हटिया नजिकै पीपलगौंडा गाउँमा खड्कबहादुर गोदारसँग भेटियौं । उनको आग्रहमा स्टीलको गिलासमा चुलुवा दूध पिउँदा जिउ नै सरररररर भयो । नास्पाति खाइयो । घरमा ल्याउने पाहुर समेत दिए । मुख तीखो भएपनि मन मीठो भएको मान्छे हुन् खड्क ।

    ढिला गरेको कारण भूपाल दाइकहाँ पकाएको चाउचाउले सिङ्ग हालेर फुल्लिएछ । साथी थपिए पदमबहादुर कार्की पनि । केहीबेर हामीले स्थानीय पदम देवकोटा, थमनबहादुर थापा, पदम कार्की, केशरबहादुर कार्की, दुर्गालाल श्रेष्ठसँग सम्वत १९३४ मा स्थापना भएको भीमसेन मन्दिर, १२४८ मीटर उचाइँमा रहेको मस्याम हटिया बजार, २०१४ सालमा स्थापना भएको मस्याम माविका सन्दर्भमा लामै कुराकानी गरियो । पुरानो समयमा होटल, लज, कपडा पसल थिए रे ! लाहुरेहरु बास बस्दा झाम्रे खुबै चल्थ्यो रे ! गाउँलेहरुले पुराना कुरा सुनाउँदै गर्दा पुराना घरहरुले प्रमाण पेश गरिरहेका थिए ।

    करिव सात घण्टाको यात्रामा गाउँलेहरुसँग गाउँका विकास निर्माण, कृषि, पशुपालन, पर्यटनलगायतका धेरै विषय कुराकानी गरियो । गाउँ रित्तिदै गएको पुरानै कुरा फेरि सम्झना भयो । बाटो पुगेको, पानीका धारा घरमै झरेको, स्कूल दैलामा रहेको, घर अघिबाटै जीप दौडिएको, बिजुली झलमल । स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा मिलेको तरपनि गाउँमा केटाकेटी र बुढापाका बाहेक अरु नरहेको कुरा सुन्दा वा देख्दा नरमाईला लाग्नु स्वभाविकै हो । विकासको उपभोगकर्ता को हुने हो ? चिन्ता र चिन्तनको विषय यही रह्यो । एकीकृत बस्ती विकास कहिले होला ? ग्रामीण जनजीवन उल्लासमय र गुल्जार कहिले होला ? फेरि पनि गाउँमा सहर र विदेश पसेका फर्किएलान् ? एकपटक घोत्लिएर सोच्न मन लाग्यो ।

    मस्याम गाउँलाई साँझको सात बजे छाडेर हामी डुम्रे बजारतिर ओरालियौं । डुम्रे, गौडेको पुल, चौबिस मेल, जोरधारा, केराबारी, सिसुवा, झुम्सा, दोभान हुँदै चिडियाखोला नजिकै चेकिङ्गमा ट्राफिक प्रहरीलाई मुख सुँघाउन आइपुग्दा रातको पौन आठ बजिसकेको थियो ।