२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

“राउटेहरूलाई परिवर्तन होइन, सम्मान, अधिकार र सुरक्षित भविष्य चाहिन्छ”

शनिवार , श्रावण ९, २०८३

  • 13
    Shares
  • 13
    Shares
  • नेपालका अन्तिम घुमन्ते आदिवासी समुदायसँग डेढ दशकदेखि सहयात्रा गरिरहेका सामाजिक अभियन्ता हीरासिंह थापासँग लेखक मनोज लामिछानेले लिनुभएको विशेष अन्तर्वार्ता :

    कर्णालीका घना वनहरूमा घुमन्ते जीवन बिताउँदै आएको राउटे समुदाय नेपालको मात्र होइन, विश्वकै दुर्लभ आदिवासी समुदाय मध्ये एक हो । आफ्नै भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई पुस्तौंदेखि जोगाउँदै आएको यो समुदाय अहिले अस्तित्वको संघर्षमा छ । आधुनिकताको तीव्र प्रभाव, बाह्य हस्तक्षेप, स्वास्थ्य चुनौती, सामाजिक उपेक्षा र घट्दो जनसंख्या बीच पनि राउटेहरूले आफ्नो मौलिक पहिचान जोगाई रहेकाछन् ।

    राउटेहरूलाई आधुनिकताको नाममा परिवर्तन गर्नुभन्दा उनीहरूको मानव अधिकार, संस्कृति र आत्मनिर्णयको अधिकारको संरक्षण गर्नुपर्छ र राज्यको तह र तप्कामा कुनैदिन उनीहरुको अर्थपूर्ण उपस्थिति हुनुपर्छ भन्ने बिचार राख्ने र यही समुदायसँग विगत डेढ दशकदेखि प्रत्यक्ष रूपमा काम गर्दै आएका सोसेक नेपालका संस्थापक तथा सामाजिक अभियन्ता हीरासिंह थापासंग गरिएको विशेष संवाद ।

    प्रश्न: राउटे समुदायसँग काम गर्ने यात्रा कसरी सुरु भयो?

    उत्तर: सोसेक नेपाल “आवाज विहीनहरूको आवाज” बनोस भन्ने उद्देश्यले स्थापना भएको हो । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायसँग काम गर्दै जाँदा हामीले महसुस गर्‍यौ, राउटे समुदायको आवाज राज्यको कुनैपनि तहसम्म पुग्न सकेको छैन । उनीहरु आफ्ना अधिकार र आवश्यकता बारे आफै बोल्न सक्ने अवस्थामा छैनन् । यही जिम्मेवारी बोधका कारण  सन् २०१० मा म पहिलो पटक राउटे बस्तीमा पुगे ।

    सुरुमा उहाहरुले मलाई सहज रूपमा स्वीकार गर्नुभएन । तर हाम्रो उद्देश्य स्पष्ट थियो उहाहरुको विश्वास जितेर उहाहरुलाई साथ दिनु । निरन्तरको प्रयास, समय, संवाद, अध्ययन र सम्मानजनक सम्बन्ध निर्माण पश्चात: हामीले स्वास्थ्य, मातृ तथा शिशु सुरक्षा, सरसफाइ, उपचार, अधिकार र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सफल भयौ । आज उहाँहरू आफैँ उपचारका लागि आउनुहुन्छ, आफ्ना समस्या खुलस्त राख्नुहुन्छ र हामीलाई आफ्नै साथीका रूपमा स्वीकार गर्नुभएको छ । हामीलाई  विश्वास गर्नुहुन्छ यो हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।

    प्रश्न : अहिले राउटे समुदायको सबैभन्दा ठूलो चुनौती के हो ?

    उत्तर: धेरैले गरिबीलाई मात्र समस्या देख्छन्, तर वास्तविक चुनौती उनीहरूको आवाज नसुनिनु हो । बाहिरी व्यक्तिहरूले उनीहरूको सरलता र अशिक्षाको फाइदा उठाउँदै मदिरा तथा लागूपदार्थ सेवन गराउने, पैसा देखाएर प्रभाव पार्ने, सामाजिक सञ्जालमा भिडियो बनाएर मनोरञ्जनको विषय बनाउने जस्ता काम गरिरहेका छन् । यसले उनीहरूको संस्कृति, आत्मसम्मान र मानवीय गरिमामाथि गम्भीर चोट पुर्‍याई रहेकोछ । राउटेहरू दयाका पात्र होइनन् उनीहरू सम्मानपुर्वक  बाँच्न पाउने अधिकार भएका नागरिक हुन् भन्ने मलाई लाग्छ ।

    प्रश्न: विकासका नाममा उनीहरूको जीवनशैली परिवर्तन गर्नुपर्ने भन्ने कुरामा तपाईंको धारणा के छ?

    उत्तर: विकास भनेको सबैलाई एउटै ढाँचामा ढाल्नु होइन । संयुक्त राष्ट्रसंघको आदिवासी जनजातिको अधिकार सम्बन्धी घोषणापत्र (UNDRIP) र ILO Convention No.169 ले आदिवासी समुदायलाई आफ्नै संस्कृति, भाषा, परम्परा र जीवनशैली अनुसार बाँच्ने अधिकार सुनिश्चित गरेकोछ । त्यसैले राउटे समुदायलाई रुपान्तरणको नाममा जबर्जस्ती स्थायी बसोबासतर्फ धकेल्नु वा उनीहरूको मौलिक पहिचान मेटाउने प्रयास गर्नु मानव अधिकारको दृष्टिले कदापि उचित होईन ।

    हामीले गर्नुपर्ने काम भनेको, उनीहरूको मुल्य, मान्यता, पहिचान र संस्कृतिमा हस्तक्षेप गर्नु होइन बरु शिक्षा स्वास्थ्य, सुरक्षित मातृत्व, सरसफाइ, पोषण र आवश्यक उपचारको पहुँच विस्तार गर्नु र परिवर्तनका लागि उनीहरू आफैँले रोज्ने वातावरण सिर्जना गर्नु हो ।

    प्रश्न : राउटे समुदायको भविष्यका लागि राज्यले के गर्नुपर्छ भन्ने लाग्छ ?

    उत्तर: राज्यले राउटे समुदायलाई दया होइन, अधिकारका दृष्टिले हेर्नुपर्छ । कर्णाली प्रदेश सरकारले तयार गरेको राउटे नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । स्वास्थ्य, शिक्षा, सुरक्षा र संरक्षणका लागि स्थायी संयन्त्र निर्माण गर्न आवश्यक छ । उनीहरूको परम्परागत आवतजावत क्षेत्रको संरक्षण गर्दै ‘राउटे करिडोर’ जस्ता दीर्घकालीन अवधारणामा काम गर्नुपर्छ । यसले वन संरक्षण र राउटेहरूको परम्परागत जीवनशैली दुवै सुरक्षित हुन्छ भन्ने लाग्छ ।

    प्रश्न : अन्त्यमा तपाईं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई के सन्देश दिन चाहनुहुन्छ ?

    उत्तर: राउटे समुदाय नेपालको मात्र होइन, विश्वको सांस्कृतिक सम्पदा हो। उनीहरूको अस्तित्व एउटा समुदायको मात्र प्रश्न होइन l यो मानव सभ्यताको विविधता र सांस्कृतिक सम्पदाको संरक्षणसँग जोडिएको विषय पनि हो । म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यम, अनुसन्धानकर्ता, मानवअधिकार संस्था र डकुमेन्ट्री निर्माताहरुलाई राउटे समुदायलाई नजिकबाट बुझ्न आग्रह गर्दछु । कुनैपनि कार्यगर्दा उनीहरूको सम्मान, सहमति र संस्कृतिको संरक्षणलाई केन्द्रमा राखेर गर्नुपर्छ ।

    अन्त्यमा म सम्पूर्ण समाजसँग एउटा आग्रह गर्न चाहन्छु, राउटेहरूलाई मनोरञ्जनको सामग्री नबनाऔँ । उनीहरूलाई मदिरा खुवाएर भिडियो बनाउने, सामाजिक सञ्जालमा भाइरल हुने माध्यम बनाउने वा उनीहरूको संस्कृतिको उपहास गर्ने कार्य तत्काल बन्द हुनुपर्छ । यदि हामीले आज उनीहरूको भाषा, संस्कृति, पहिचान र मानव अधिकारको संरक्षण गर्न सकेनौ भने, आगामी दिनमा  एउटा अद्वितीय जीवित सभ्यता गुमाउनेछ । यदि हामीले सम्मान, सहकार्य र संवेदनशीलतालाइ  दियौ भने राउटे समुदाय भविष्यका पुस्ताका लागि पनि नेपालको गौरव र विश्व सम्पदाका रूपमा जीवित रहनेछ l