आइतवार , श्रावण ३, २०८३
काठमाडौँ, ३ साउन । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रश्तावप्रति विमति प्रकट गर्नुभएको छ ।
आईतवार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रश्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताउनुभएको हो । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गर्नुभयो ।
तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेट भन्दा फरक कुरा भएकाले काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । सत्तालाई नै सबैथोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उहाँको तर्क छ ।
राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताउनु भयो । सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा काँग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको बताउनु भयो ।
सभापति थापाले भन्नुभयो, ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भुमिका के हुन्छ भनेर सोध्नुहुन्छ । परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहो¥याउँदैनौँ ।
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रश्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ । तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो ।
सरकारमा सहभागी हुनु मात्र काँग्रेसको उद्देश्य होइन । सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ । चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको छ ।
सत्ताकेन्द्रित राजनीतिले काँग्रेस मात्र होइन, सबै पुराना राजनीतिक दललाई क्षति पु¥याएको छ । अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्छ ।’
सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताउनु भयो । उहाँले काँग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij