बिहिवार , आषाढ ३२, २०८३
काठमाडौँ, ३२ असार । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउँदै सीप विकासका कार्यक्रमहरू निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ ।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीवार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान प्रकृतिका मुलुकहरूको तुलनामा निकै कमजोर रहेको बताउनुभएको हो ।
हाल उपलब्ध तथ्याङ्कअनुसार नेपाल ‘बटम थर्ड’ (तलबाट तेस्रो स्थान) मा रहेको उल्लेख गर्दै उहाँले हाल भइरहेका सीप विकासका प्रयासहरू छरिएका र नतिजामुखी हुन नसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष पाण्डेले सरकारी स्तरबाट हुने तालिमहरू विभिन्न १७ वटा मन्त्रालय र विभागहरूबाट छरिएर सञ्चालन हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनु भयो ।
१ सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा कमजोर मानव संशाधन मुख्य चुनौती बन्न सक्ने उहाँको तर्क छ । तालिम केन्द्रहरूले कति संख्यामा जनशक्ति उत्पादन गरे भन्ने ’आपूर्ति केन्द्रित’ सोचभन्दा पनि उद्योगलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने ‘माग केन्द्रित’ पद्धति अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष पाण्डेले परिसंघ आफैँले केही समयअघि ३ हजार ३ सय ७५ जनालाई तालिम दिएर ३ हजार २ सय जनालाई रोजगारी दिलाउन सफल भएको बताउनु भयो । सरकारले ल्याएका कतिपय प्रशिक्षार्थी (एप्रेन्टिसिप) कार्यक्रमहरू कार्यविधिको जटिलताका कारण पूर्ण सफल हुन नसकेको भन्दै उहाँले कार्यविधिमा समयसापेक्ष सुधारको माग गर्नुभयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो,‘ हालैका विभिन्न प्रतिवेदनहरूले पनि देखाएका छन् कि नेपालले प्रयास नगरेको होइन, तर ती प्रयासहरू छरिएर भएका कारण अपेक्षित परिणाम हासिल हुन सकेको छैन । विभिन्न मन्त्रालय र निकायले छुट्टाछुट्टै रूपमा तालिम सञ्चालन गर्दा प्रभावकारी नतिजा आउन सकेन । उदाहरणका लागि, दुई वर्षअघिको सिटिइभिटीको तथ्यांकअनुसार भर्ना दर ५१ प्रतिशत, तालिम पूरा गर्ने दर ४७ प्रतिशत र रोजगारी प्राप्त गर्ने दर ४९ प्रतिशत थियो ।
समग्रमा हेर्दा करिब १५–१६ प्रतिशत मात्रै वास्तविक उपलब्धि हासिल भएको देखिन्छ । यसमा अब व्यापक सुधार आवश्यक छ । उद्योगको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र व्यवसाय सञ्चालनको लागत सबै दक्ष जनशक्तिमा निर्भर हुन्छ । देशले आर्थिक विकासका ठूला लक्ष्य हासिल गर्न मानव पुँजीलाई सुदृढ बनाउनु अपरिहार्य छ । यही विषयमा छलफलको अवसर प्रदान गरेकोमा मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । हाम्रो अन्तिम रोजगारदाता निजी क्षेत्र हो ।
त्यसैले सीप विकास प्रणाली मागमा आधारित हुनुपर्छ । उद्योगलाई कस्तो जनशक्ति चाहिन्छ भन्ने आधारमा मापदण्ड, पाठ्यक्रम, तालिम, मूल्याङ्कन र प्रमाणीकरणसम्म निजी क्षेत्रको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्छ । यसरी मात्र उद्योगका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सकिन्छ, जसले स्वदेशमा उद्योगलाई सहयोग गर्ने र विदेशमा गए पनि राम्रो आम्दानी गर्न सक्ने आधार तयार हुन्छ ।’
उद्योगहरूको मानव संशाधन नीतिसँग मेल खाने गरी सरल भर्ना प्रक्रिया, साना उद्योगहरूका लागि सामूहिक तालिमको व्यवस्था र ठूला उद्योगका हकमा ६ महिनाभन्दा बढी अवधिको तालिमको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने उहाँको सुझाव छ । मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन हुँदा उद्योगको प्रतिष्पर्धी क्षमता बढ्ने र वैदेशिक रोजगारीमा जानेहरूले पनि उच्च पारिश्रमिक पाउने निश्चित रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सीप विकास र प्राविधिक शिक्षा (टीभीईटी) क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि मन्त्रालयसँग राष्ट्रिय स्तरमै प्रणालीगत सुधार (सिस्टेमिक रिफर्म) गर्न परिसंघ प्रतिवद्ध रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij